NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चैते धानको मूल्य निर्धारण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो । गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । कृषकले उत्पादन गरेको चैते धान यहाँका मिलहरूले निषेधाज्ञालाई कारण देखाउँदै प्रति क्विन्टल रु एक हजार ६०० मा खरिद गर्ने भनेपछि कृषक समस्या लिएर नगरपालिका पुगेका थिए । कृषकको समस्या आएपछि उनीहरूलाई लिएर नगरप्रमुख आफैँ शनिबार जयश्री फुड्समा पुगेर धानको खरिद मूल्य निर्धारण गर्न लगाएका हुन् । नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट–९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा र जयश्री फुड्का खरिद बिक्री शाखा प्रमुख प्रकाश घिमिरेबीच सहमति भएर चैते धानको मूल्य निर्धारण गरिएको हो । घिमिरेले अन्य जिल्लामा चैते धानको मूल्य थोरै भएको भए पनि स्थानीय उत्पादन भएका कारण गैँडकोटका कृषकलाई बढी मूल्य दिइएको बताए । ‘चितवनको पर्सा, भण्डारालगायत स्थानमा अधिकतम मूल्य रु दुई हजार ३५० मा धान खरिद बिक्री भइरहेको छ’, घिमिरेले भने, – ‘तर हामीले स्थानीय उत्पादन भएका कारण यहाँका कृषकलाई केही राहत पुगोस् भनेर प्रति क्विन्टल रु दुई हजार ४०० दिन सहमती जनाएका हौँ ।’ कोरोना महामारी र जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण धानको मूल्य बढाएर खरिद गर्न नसकिएको घिमिरेले बताए । कृषकले उत्पादन गरेको चैते धानको मूल्य निर्धारण पछि नगरप्रमुख पौडेलले कृषकको उत्पादन गरेका खाद्य वस्तु कुनै पनि कारण खेर जान नदिनेमा आफू प्रतिबद्ध रहेको बताए ।