NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पाँच देशमा एकसाथ वृक्षरोपण गरियो

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्मारका बिभिन्न भागमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले शनिबार वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गरेकी थिइन् । ‘दक्षिण एशियन टिम’ नामक स्वयंमसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टिम संयोजक चक्रबहादुर चन्दले जानकारी दिए । अभियानले अन्तर्राष्टिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ । देश अनुसार विभिन्न देशले आतिथ्यता गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो । नेपालमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो । सुदूरपश्चिम प्रदेशको ४ स्थानमा कर्णाली प्रदेशको ३ स्थानमा लुम्बिनी प्रदेशको ६ स्थानमा, गण्डकी प्रदेशको ५ स्थानमा बागमती प्रदेशको ७ स्थानमा प्रदेश दुईको ८ स्थानमा प्रदेश एकको १२ स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । भारतमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउण्डेशनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गरेकी छन् । दक्षिण एशियन टिमको आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । यस अभियानका लागि विभिन्न कलाकारले पनि वृक्षरोपण गर्ने र आम नागरिकलाई समेत वृक्षरोपण गर्न सामाजिक संजालबाट अपील समेत गरेका थिए । यूवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा वृक्षरोपण गरेका छन् । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ ।