NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कालीकोट राष्ट्रिय विद्युत प्रशारणमा जोडियो

सुर्खेत । कालीकोट जिल्ला राष्ट्रिय विद्युत प्रशारण लाइनमा जोडिएको छ। दैलेखको दुल्लुबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको हो । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय विद्युत लाइन पुगेको कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए । ‘सोमबार राति १० बजेबाट लाइन छोडेका छौं,’ जोशीले भने, ‘तत्काललाई ११ केभीए मात्रै भए पनि हप्तादिन भित्र ३३ केभीए पुर्‍याउने लक्ष्य छ ।’ उनका अनुसार अहिले ३३ केभीए विद्युत पुर्‍याउन दैलेख–दुल्लु खण्डमा काम भइरहेको छ। राष्ट्रिय विद्युत प्रशारण पुगेसँगै कालीकोटमा लोडसेडिङको अन्त्य भएको छ। यसअघि कालीकोटको मान्मा बजार क्षेत्र र आसपासमा जेनेटरबाट विद्युत वितरण गरिँदै आएको थियो। ‘पहिले आलोपालो गरेर दिनमा ६ घण्टा मात्रै विद्युत छोड्थ्यौं,’ वितरण केन्द्रका प्रमुख जोशीले भने, ‘ अब लोडसेडिङको अन्त्य भएको छ, अब २४ घण्टा बत्ति आउँछ।’ गत वर्षसम्म कालीकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत वितरण हुँदै आएको थियो। गत साउनमा आएको बाढी पहिरोले पावरहाउस बगाई दिएपछि मान्मामा जेनेटरबाट विद्युत वितरण गरिँदै आएको थियो। कालीकोटमा यसअघि नै खाँडचक्र नगरपालिका र सानीत्रिवेणी गाउँपालिकामा विद्युत लाइन पुगि सकेकको छ। हाल कालीकोटमा ३८ सयभन्दा बढीले बिजुली बाल्ने गरेका छन् । कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला र डोल्पामा अझै राष्ट्रिय विद्युतलाइन पुग्न सकेको छैन ।