NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

२५ सदस्यीय बन्यो मन्त्रिमण्डल, को हुन् थपिएका मन्त्रीहरु ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए । याे सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औं पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । रक्षा मन्त्रालयबाहेक अन्य सातवटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन् । आजै अपरान्ह नयाँ नियुक्त भएका मन्त्रीहरुको राष्ट्रपति निवास शीतल निवासमा उनीहरुको शपथ हुने भएको छ । को हुन् नयाँ मन्त्री बनेकाहरु प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । काँस्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित अधिकारीलाई प्रधानमन्त्री ओलीले गृह मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि उक्त मन्त्रालय रामबहादुर थापा (बादल)ले सम्हालेका थिए । सर्वोच्चको अन्तरिम आदेशपछि बादलको मन्त्री पद गएको थियो । त्यसपछि गृहमन्त्रालयसँगै अन्य सातवटा मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहत राखेका थिए । यसअघि नेकपा हुँदै गर्दा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याउने तयारी चल्दै गर्दा अधिकारीले आफ्नो क्षेत्रबाट गौतमलाई उठान सहमति दिएका थिए । कृषि मन्त्रीमा नियुक्ति पाएकी ज्वाला कुमारी साह नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचत सांसद हुन् । तर, नेकपा विभाजनपछि उनले ओली खेमा रोजेकी थिइन् । त्यसपछि साहलाई माओवादी केन्द्रले सांसदबाट निष्काशन गरेको थियो । साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी थिइन् । बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज थिइन् । नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए । अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् । यस्तै गणेश पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । पहाडी केही साता अघिमात्रै खनाल नेपाल समूह छाडेर ओली समूहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् । यस्तै, सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । यसअघि महिला आयोगमा रहेकी थापालाई ओलीले सञ्चारमन्त्री बनाएका हुन् । ओलीले जसपाबाट राजकिशोर यादवलाई पनि मन्त्री बनाएका छन् । जसपाका कार्यकारिणी सदस्य रहेका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिइएको छ । यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि उनको नाम एकाएक हटाइएको थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए । जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए । जबकी पूर्व राजपाका सबै शीर्ष नेता सरकारमा सहभागी हुने सहमति भएको थियो । अहिले भने राजकिशोर यादवको नाम राष्ट्रपति कार्यालय हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुगेको हो । पहिलो मधेश आन्दोलनसँगै मधेशी राजनीतिमा आएका राजकिशोर यादवले मधेशी जनअधिकार फोरम नेपालबाट पहिलो संविधानसभा चुनाव जितेका थिए । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री भएका छन् । प्रधानमन्त्रीले विस्तार गरेकाे मन्त्रिपरिषद्मा उनलाई वनमन्त्री बनाएकाे छ । कैलाली क्षेत्र नं ५ बाट उनले आरजु राणालाई भारी मत अन्तरले पराजित गरेका थिए । तत्कालीन वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् ।   यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए । यस्ताे छ पूर्ण मन्त्रिमण्डल याे पनि पढ्नुस् फेरि मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, यी हुन् नयाँ बन्ने मन्त्री