NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

‘युवा संघका महानगर कमिटी अध्यक्षले व्यवसायीलाई बन्धक बनाएर कुटे’

पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले मानेन

काठमाडौं । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ ‘ख’ का प्रदेश सभा सदस्य पर्शुराम बस्नेतका सहयोगीमाथि दुई जनालाई बन्धक बनाएर कुटपिट गरेको आरोप लागेको छ ।

विराटनगर–८, मधुमाराका नवल यादव र विराटनगर–११ का अभिषेक साहले बस्नेतका सहयोगी किरण लामाले आफ्नै घरमा बन्धक बनाई कुटपिट गरेको आरोप लगाएका हुन् । बन्धक बनाई पिटिएका दुवै जना औषधि व्यवसायी हुन् भने घटनामा संलग्न लामा नेकपा एमालेनिकट युवासंघका विराटनगर महानगर कमिटी अध्यक्ष हुन् ।

लामा मिटरव्याजी पनि हुन् । लामाले पाँच लाख रूपैयाँ दिएको र सट्टामा १२ लाख बुझाउँदा पनि अझै नछाडेको पीडितको भनाइ छ ।

लामाले शुक्रबार लेनदेनको विषयमा कुराकानी गर्न घरमा आफूहरूलाई बोलाई थुनेर कुटपिट गरेको तथा पाँच घण्टासम्म बन्धक बनाएको यादव र साहले प्रहरीसमक्ष बयान दिएका छन् ।

घरमा थुनेर राखिएका उनीहरूलाई लामाले घरबाट पैसा ल्याउन फोन गर्नु भनेर मोबाइल दिएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो ।

पीडितले कुटपिट गरी बन्धक बनाएको भन्दै प्रहरीसमक्ष लामाविरुद्ध किटानी जाहेरी दिएका छन् । तर प्रहरीले दर्ता गरेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले जाहेरी दर्ता गर्न नमाने पनि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लामालाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएका छन् । तर अहिलेसम्म पक्राउ परेका छैनन् ।

मिटरव्याजी लामाले यसअघि विराटनगरको महेन्द्र चोकमा यस्तै लेनदेन विवादमा प्रह्लाद गुरागाईं र जगदीश साहलाई निर्घात कुटपिट गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष