NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

‘विद्यालयको पाठ्यक्रममा ‘साइबर हाइजिन’लाई जोड्न ढिलो भइसक्यो’

काठमाडौं । स्वास्थ्य के हो ? अधिकांशका लागि शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ्य रहनु व्यक्तिको स्वास्थ्यको मापन होला । तर सूचना प्रविधि विशेषज्ञ डा राजिब सुब्बाका लागि व्यक्ति स्वस्थ्य हुन यतिलेमात्रै पुग्दैन । उनको भनाईमा कुनै व्यक्ति स्वस्थ्य हुनका लागि उसको ‘डिजिटल हाइजिन’ पनि अपरिहार्य छ ।

शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य जस्तै डिजिटल प्रविधिको बढ्दो विकाससँगै यसका जोखिम पनि उत्तिकै बढेका छन् । उनका अनुसार यसबाट सुरक्षित हुनका लागि पनि डिजिटल स्वास्थ्य आवश्यक छ । किनभने यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई पनि असर पारिरहेको छ ।

के हो त डिजिटल हाइजिन ? सुब्बा भन्छन्, ‘डिजिटल प्रविधिको प्रयोग कसरी गर्ने ? अनलाइनमा सुरक्षित कसरी हुने ? डिजिटल प्रयोग गर्दा चनाखो कसरी बस्ने भन्ने सेरेफेरोलाई नै हामी साइबर हाइजिन भन्छौं ।’

सूचना प्रविधिको बढ्दो रफ्तारसँगै हामीले ध्यान दिनुपर्ने कुरा पनि स्वभावैले बढ्दै गएका छन् ।

त्यसैले ‘साइबर हाइजिन’ लाई सुनिश्चित गर्नका लागि विद्यालयहरूले यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने सुब्बाले बताए । ‘यस्तो गर्दा शिक्षण संस्थामा पनि यसबारे ज्ञान बढाउनुपर्छ भन्ने मानक बस्छ । अभिभावकलाई पनि भार कम हुन्छ,’ उनले भने ।

हामीले पाठ्यक्रममा विद्यार्थीलाई कम्प्युटरबारे पढाउछौं । त्यसअन्तर्गत प्रोगामिङ सिकाउँछौं । ‘तर अनलाइनमा सुरक्षित कसरी बस्ने भनेर किन सिकाउँदैनौं ?,’ उनी प्रश्न गर्छन् ।

अनलाइन सुरक्षाबारे पर्याप्त ज्ञान नहुँदा जब कुनै विद्यार्थी समस्यामा पर्छ तबमात्रै विद्यालयले प्रविधि विज्ञको खोजी गर्ने प्रवृत्तिप्रति उनी दिक्क छन् । यसरी समस्या भएपछिमात्रै यससम्बन्धी जनचेतना जगाउने काम दीर्घकालिन उपाय नभएको उनको बुझाइ छ । यसको भारबाट मुक्त हुनकै लागि पाठ्यक्रममै यसलाई समेट्नुपर्नेमा उनले जोड गरेका हुन् ।

१८ वर्ष मुनिका छोराछोरीले कस्ता सोसल प्लेटफर्मको प्रयोग गर्छन्, इनटरनेटमा के हेर्छन् भन्ने कुरामा अभिभावकले नियमन गर्नैपर्ने उनको सुझाव छ । कम्तीमा पनि ‘प्लस टु’ पढ्ने या बच्चा आफूसँग निर्भर छ भने यसमा उसको गोपनियता आफू मातहतमा राख्नुपर्ने उनले बताए । ‘सामाजिक सञ्जाललाई अपराधको माध्यम बनाइएका धेरै घटना नेपालमै छन् । यसबारे किशोर किशोरीहरु जानकार हुँदैनन् । यस्ता जोखिमलाई अभिभावकले बुझ्नुपर्छ,’ उनले भने ।

अपराधका परिभाषा र प्रवृत्ति परिवर्तन भएपनि कानुन भने पुरानै भएको विषयमा उनले चिन्ता जनाए । जसकारण साइबर कानुन तर्जुमा गर्नैपर्ने आवश्यक्ता सबैतिरबाट गुञ्जिरहेको छ । कानुनमात्रै नभएर प्रविधिको विकासको रफ्तारको तुलनामा हाम्रो शिक्षा, समाज, सार्वजनिक नीति र अभिभावहरू निकै पछि रहेको उनले बताए ।

यस्ता समस्या सम्बमेधन गर्न एउटा ‘डेडिकेटेड’ संस्थाको आवश्यकता उनले औंल्याएका छन् ।

अझ हिजोआज डिजिटल प्रयोगबिना बालबालिकाले खाना खाँदैनन् । साइबर ब्यूरोमा दैनिक सय भन्दाबढी हाराहारीका उजुरी यसैसँग सम्बन्धित हुन्छन् । यस्तो अवस्थामामा व्यक्ति कसरी चनाखो हुने ? अभिभावक र शैक्षिक संस्थाले के गर्ने ? राज्यले कस्तो नीति तथा कानुनको तर्जुमा गर्ने ? यी र यस्तै विषयसँग डा सुब्बा सँग नरोत्तम अर्यालले संवाद गरेका छन् ।

शिक्षा क्षेत्रको समस्या, समाधान र बद्लिदों आयामका बारेमा छलफल गर्ने उद्देश्यले सुरु गरिएको नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यो श्रृंखला तलको लिंकमा हेर्न सक्नुहुनेछः