NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते
पोलिसी डायलग

भारतसँगको खुला सीमाले व्यवसायी मारमा परे, त्यसलाई बन्द गर्नुपर्छ : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको खुला सिमानाबारे अर्थ राजनीतिक कोणबाट व्यापक बहस हुनुपर्ने बताएका छन् । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुति ‘पोलिसी डायलग’मा आफ्ना भनाइ राख्दै डा. भट्टराईले नेपालको तुलनामा भारतको अर्थतन्त्र विशाल रहेकाले खुला सिमाना कुनै हालतमा ठीक नभएको तर्क गरे ।

‘भारतको अर्थतन्त्र हाम्रोभन्दा ७५ गुणा ठूलो छ । यो संख्या आगामी दिनमा झनै बढ्नेवाला छ । त्यस्तो अर्थतन्त्रसँग खुला सिमाना राखेर हुन्छ ?,’ भट्टराईले भने, ‘कुनै न कुनै ढंगले हामीले रेगुलेटरी सिमाना राख्नै पर्छ ।’ भट्टराईले चीन र भारत दुवैसँगको सम्बन्धमा सन्तुलन मिलाउनुपर्ने खाँचो पनि औंल्याए ।

राष्ट्रियतालाई अर्थ–राजनीतिको कोणबाट बुझ्न आग्रह गर्दै उनले भारतसँगको असमान सम्बन्ध अतिक्रमित भूमिसँग मात्रै सीमित नरहेको बताए। ‘सुगौली सन्धिपछि प्राप्त कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता भू–भाग हाम्रै भएकोमा कुनै विवाद छैन । यसमा पनि दुई देशबीच विवाद कायमै छ । तर नेपाललाई त्योभन्दा बढी नोक्सान खुला सिमानाले पारिरहेको छ,’ उनले भने ।

आर्थिक रूपमा नेपालले प्रतिस्पर्धा नै गर्न नसक्ने भारतसँगको खुला सिमानाले धेरै क्षति पुर्याइरहेको उनले तर्क गरे । ‘भारतले त्यहाँका किसानलाई दिने अनुदान हामीले नेपाली कृषकहरूलाई दिनै सक्दैनौं । जसकारण कृषि उत्पादनसमेत आयात गर्नुपर्ने अवस्थामा हामी छौं,’ उदाहरण पेश गर्दै उनले अगाडि थपे, ‘भारतका उद्योगधन्दासँग प्रतिस्पर्धा गर्न नसकेकै कारण हाम्रा उद्योगधन्दा यहाँ मरिरहेका छन् । यो पो ठूलो कुरा हो त ! यसको व्यवस्थापन कसरी गर्ने भन्ने अर्थ–राजनीतिक कोणलाई बुझ्नुपर्छ ।’

यससम्बन्धमा परिपक्व बुझाइ भएको नेतृत्व नआएसम्म देशको राष्ट्रियता पनि बलियो नहुने र युवा पलायन यथावत् रहने भट्टराईको ठम्याइ छ ।
छिमेकी राष्ट्रहरूसँगको सम्बन्धबारे बोल्दै उनले भारतसँगको खुला सिमाना र चीनसँग हिमालले छेक्यो भन्ने अवस्थालाई बदल्नैपर्ने बताए ।

भट्टराईका अनुसार, कूटनीतिक माध्यमबाट यस्ता समस्याको समाधान गर्न सबैको एउटै आवाज हुनुपर्छ । तर देशका नेताहरूले स्वार्थअनुकूल खुसुक्क सम्झौता गरेर आउने गरेको भट्टराईको गुनासो छ । ‘एउटाले पार्टीको सत्ता जोगाउनकै लागि र अर्कोले अर्को गरेर आउँछन् । दुई छिमेकीबीचको हाम्रो अवस्थितिलाई विकासको अनुकूलतामा बदल्न सम्बन्धलाई पुनव्र्याख्या गर्नुपर्छ,’ उनले भने ।

फरक प्रसंगमा डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेप्टेम्बर महिनाको अन्तिममा हुन गइरहेको चीन भ्रमण औपचारिकबहेक धेरै केही नहुने बताए । चीन आगामी दशकमा विश्वको पहिलो अर्थतन्त्र हुनेतिर र दक्षिण छिमेकी भारत तेस्रो अर्थतन्त्र हुनेतिर उन्मुख रहेकाले नेपालले यसलाई अवसरका रूपमा उपयोग गर्न पहलकदमी लिन अग्रसर हुनुपर्ने भट्टराईको मत छ । ‘नेपाल दुई ढुंगाबीचको तरुल होइन । दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको गतिशील पुल बनाउनुपर्छ भन्ने अवधारणा राख्दै आएको छु,’ उनले भने, ‘त्यो दिशातिर जाँदा राम्रो हुन्छ । अहिलेको प्रधानमन्त्रीको भ्रमणबाट त्यो होला जस्तो लाग्दैन ।’

यी विषयमा कूटनीतिक रूपमा भारतसँग लडौं भनेर आफूले प्रस्ताव गर्दा भारत परस्तको आरोप लगाइएको गुनासोसमेत उनले गरे ।

हेर्नुहोस् डा भट्टराईसँग गरिएको संवादको पूरा भिडियो