NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नीति बहस : श्रम शक्तिको क्षमता अभिवृद्धि गर्न विकास साझेदारको सहकार्यमा सरकारले गर्न सक्ने काम

काठमाडौं । विकास साझेदार संस्थासँगको सहकार्यमा श्रम शक्तिको सीप तथा दक्षता अभिवृद्धिमा नेपाल सरकारले केसम्म गर्न सक्छ भन्ने कुरा कोरोना महामारीले देखाइसकेको छ ।

महामारीको उक्त समयको सदुपयोग गर्दै सरकारले विकास साझेदार संस्था युनएनडिपीसँगको सहकार्यमा सीप विकासका धेरै कार्यक्रम सञ्चालन गर्यो । मुख्यगरी लुम्बिनी र मधेश प्रदेशले यी कार्यक्रमबाट प्रशस्त लाभ लिए ।

नेपाल फर्किने श्रमिकसँग भएका सीपलाई यहीँ परिचालन गर्नका लागि दिर्घकालिन रूपमा कस्ता प्रयास गर्न सकिन्छ ? उनीहरूको क्षमतालाई थप अभिृवृद्धि गर्ने कार्यलाई नीतिगत रूपमै समेट्न के गर्नुपर्छ ? कोभिडकालमा सञ्चालन भएका श्रम विकासका तालिमले बजारमा कस्तो प्रभाव पार्यो ? यी र यस्तै विषयमा यसपटकको पोलिसी डायलगमा छलफल गरिएको छ ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती पोलिसी डायलगकको यो श्रृंखलामा युएनडिपीका आवासीय प्रतिनिधि आइसानी लाबे र शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालसँग यी विषयमा संवाद गरिएको छ ।

लाबेका अनुसार सीप र दक्षता विकासमा नेपालले अब नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ । नेपाल आफैं पर्यावरणीय प्रणालीमा अद्भूत भएका कारण यससँग सम्बन्धित सीपलाई पनि विश्वस्तरमा चिनाउनका लागि नयाँ पुस्तालाई तयार राख्नुपर्ने बताइन् । योसँगै उनले नेपाल सरकारलाई दक्षता अभिवृद्धि गर्न नयाँ पुस्तामाथि लगानी गर्न, पर्याप्त अवसर दिन र उनीहरूको असफलतालाई पनि स्वीकर गर्न सुझाव दिएकी छिन् । आगामी दिनमा अझै स्तरीय कामलाई निरन्तरता दिन युएनडिपी तत्पर रहेको पनि उनको आश्वासन छ ।

सरकारका सहसचिव डा लम्सालले श्रम शक्तिको सीप र दक्षता विकासजस्ता कामलाई दीर्घकालिन रूपमा निरन्तरता दिन अहिले भएकै नीतिलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । यसलाई कार्यान्वयनमा लैजानका लागि यहाँ विद्यमान अन्तरमन्त्रालयबीचको समन्वयलाई नै प्रमुख समस्याको रूपमा उनले औंल्याए । साथै यस्ता अभ्यासबाट पर्याप्त लाभ लिन संघीय सरकारले स्थानीय र प्रदेश तहसँगको सहकार्यमा थप जोड दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रम प्रस्तोता डा गोबिन्दराज पोखरेलले उनीहरूसँग गरेको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ :