NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित ११ जनालाई सफाइ

काठमाडौं । भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित सात जनाले सफाइ पाएका छन् । हाइटेक नर्सरी निर्माणमा ८४ लाख अनियमितताको अभियोग लागेका सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार के.सी., वडा नं. ५ का तत्कालीन वडाअध्यक्ष मोहनकुमार बि.सी. लगायतले बिशेष अदालतबाट आइतबार सफाइ पाएका हुन् ।
डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मी कुमारी थापा क्षेत्रीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । थ्री फेज लाईन नभएको स्थानमा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा बृक्षारोपण तथा जडिबुटी खेती बिस्तार कार्यक्रमको नाममा भ्रष्टाचार भएको अभियोग थियो । लागत अनुमान तयार गर्ने, सम्झौता गर्ने, आयोजनाको नापजाँच गरी कार्यसम्पन्न प्रतिवेदन (उपभोक्ता समितिसँग सम्झौता गरेको मितिभन्दा अगाडिको मिति राखी कार्यसम्पन्न प्रतिवेदनमा समेत तयार गरेको) तयार गर्ने एवं उपभोक्ता समितिले एक नर्सरीको लागि चाहिने उपकरण खरिद गर्दा सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिसँग सम्झौता गरी कार्य प्रारम्भ गर्नुभन्दा अगाडिकै मितिका कोटेशनहरु उपभोक्ता समितिमार्फत स्वीकार गरेको, थ्री फेज लाईन जडानको लागि कुनै प्रकारको पहल नगरी सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको छानविनमा खुलेको थियो । सम्झौता शर्तबमोजिमको कार्य नगरेमा प्रदेश सरकारबाट प्राप्त रकम प्रचलित कानूनबमोजिम फिर्ता गर्ने प्रतिबद्धता गरेकोमा प्रतिबद्धता जाहेर गर्ने उपभोक्ता समिति लगायतलाई समेत कुनै प्रतिबद्धता पूरा गर्न नलगाई ८४ लाख ८६ हजार ६ सय ८२ रुपैयाँ सिम्ता उपभोक्ता समितिलाई भुक्तानी गरेको तथा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा बृक्षारोपण तथा जडिबुटी खेती बिस्तार कार्यक्रम प्रयोगमा दाबी थियो ।
आयोगले सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्यायलाई पनि प्रतिवादी बनाउको थियो । त्यस्तै, सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा र उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल तथा नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जनविरुद्ध समेत मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका छन् ।