NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

प्रतिक थापाः जसले नक्कली शरणार्थी प्रकरणमा करोडौं बुझे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख व्यक्ति प्रतीक थापालाई प्रहरीले आइतबार अदालतमा पेश गरेको छ । उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा हुन् । गृह मन्त्रालयमा स्वकीय सचिवमा कार्यरत रहँदा उनले करोडौं पैसा लिएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

नक्सालको नीलगिरी थकाली रेस्टुरेन्टलाई कार्यालय बनाएर नक्कली भुटानी शरणार्थी बनाएर उनले पैसा लिएका थिए ।
हाल जेलमा रहेका केशव दुलालले बयानमा बताएअनुसार नैनकला थापालाई मन्त्री क्वार्टरमा एक करोड बुझाएपछि उनीहरू प्रतीकलाई भेट्न नीलगिरी थकाली गएका थिए । त्यहाँबाट प्रतीकले नैनकलालाई फोन गरी पाउनुभयो भनी सोधेका थिए । काम गरिदिने भन्दै प्रतीकले समेत आफूहरूसँग डिल गरेको केशव र सानु भण्डारीले बताएका छन् । बिचौलियाहरूले गृह मन्त्रालयस्थित प्रतीककै कार्यकक्षमा समेत यस विषयमा बारम्बार कुरा गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सोही होटेलको पहिलो तलामा एक करोड दिएको र राष्ट्रिय सभाको निर्वाचनअघि तत्कालीन गृहमन्त्री थापासँग कुरा गरी प्रतीकलाई तीन करोड रुपैयाँ दिएको दुलालको बयान छ । जसआधारमा रामबहादुर थापा बादल, नैनकला थापामाथि समेत अब अनुसन्धान हुने सम्भावना छ।

अर्का प्रतिवादी रामशरण केसीले पनि साँखु जाने बाटोमा रहेको रेस्टुरेन्टमा प्रतीकलाई डेढ करोड रुपैयाँ बुझाएको उल्लेख गरेका छन् ।
यो मुद्दामा पक्राउ परेका अर्का प्रतिवादी बेचन झालाई भने सात दिन थुनामा राख्ने प्रहरीले म्याद लिएको छ । बेचन कांग्रेस नेता आरजु देउवा निकट व्यक्ति हुन् । उनीमाथि विस्तृत अनुसन्धान भएमा उच्च राजनीतिक नेतृत्व तानिने सम्भावना छ । उनीविरुद्ध संगठित अपराध र ठगीको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी नवराज अधिकारीले बताए ।