संसद पुनर्स्थापनाको खुसीयालीमा नेकपा प्रचण्ड-नेपाल समूहले आज देशैभर विजय जुलुस गर्ने

प्रतिनिधिसभा पुनर्स्थापनाको खुसियालीमा नेकपा प्रचण्ड नेपाल समूहले बुधबार देशैभर विजय जुलुस गर्ने भएको छ। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ। जिल्ला बिहान ८ बजे जुलुस निकालिने उनले जानकारी दिए। शान्तिवाटिकाको विजयी जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ। उनीहरू चितवनमा छन्। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिएको थियो। सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो। त्यसविरुद्ध सर्वाेच्चमा रिट परेपछि संवैधानिक इजलाशले उक्त निर्णय असंवैधानिक ठहर गरिदिएको हो। सर्वाेच्चको फैसलासँगै मंगलबार साँझ मुलुकका विभिन्न स्थानमा दीप प्रज्ज्वलन भएको थियो। नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालले चितवनमा खुसीयाली साटासाट गरेका थिए। सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न पनि निर्देशन दिएको छ। यससँगै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि आइरहेको छ। तर, प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ओलीले तत्काल पदबाट राजीनामा नदिने बताएका छन्।
प्रतिक्रिया