आजका पत्रपत्रिकामा के छ विशेष?

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने मुलधारका पत्रपत्रिकाले प्रतिनिधिसभा पुनःस्थापना फैसलापछिको राजनीतिक कोर्षमा केन्द्रित रहेर समाचार सम्प्रेषण गरेका छन्। गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएकामा सर्वाेच्च अदालतले मंगलबार उक्त निर्णय बदर गर्दै १३ दिनभित्र संसद आह्वान गर्न भनेको छ। योसँगै संसद अधिवेशन, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी कदम, प्रचण्ड नेपाल समूहको रणनीति र प्रतिपक्षी कांग्रेसको कदमलाई चासोका साथ हेरिएको छ। कान्तिपुर दैनिकले ‘संसद्भित्र नेकपाको संघर्ष झन् जटिल’ शीर्षकमा मुख्य समाचार छापेको छ। हाइलाइटमा भनिएको छ, ‘ओलीले चरण–चरणको रणनीति बनाइरहेका बेला उनीविरूद्धको लडाइँ आफ्नै पार्टीको संसदीय दलमा हो या प्रतिनिधिसभामा भन्नेमा दाहाल–नेपाल पक्षधर स्पष्ट छैनन्।’ अन्नपूर्ण पोस्टले ‘दुवै पक्ष आआफ्नो रणनीतिमा’ शीर्षकमा मुख्य समाचार छापेको छ। उसले हाइलाइटमा लेखेको छ, ‘संसद अधिवेशन बोलाउन प्रधानमन्त्री तयार तर राजीनामा नदिने, राजीनामा माग्दै दाहाल नेपाल, नत्र अविश्वास प्रस्ताव, सहकार्य गरेर अगाडि बढ्न देउवासँग छलफल।’ नागरिक दैनिकले ‘देउवासँग दाहाल–नेपालको प्रस्तावः नयाँ सरकारमा सहकार्य गरौं’ शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा भनिएको छ, ‘संसद्मा झन्डै दुईतिहाइ बहुमतनजिक रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राजनीतिक रूपमा विभाजित भएपछि नयाँ सरकार कसरी बन्छ र चल्छ भन्ने अन्योल कायमै रहेका बेला दाहाल–नेपाल समूहले सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको छ । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव गरेको हो।’ नयाँ पत्रिकाले ‘शून्य समयका नियुक्ति सदर कि बदर?’ शीर्षकमा मुख्य समाचार छापेको छ। नयाँ पत्रिका अगाडि लेख्छ, ‘५ पुसको विघटनदेखि ११ फागुनको पुनर्स्थापनासम्मलाई सर्वोच्च अदालतले शून्य समय भनेको छ, संसदीय समितिले सुनुवाइ गर्न नपाई २१ माघमा भएको नियुक्ति स्वतः खारेज हुने संविधानविद्हरूको दाबी।’
प्रतिक्रिया