NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

सत्ता समीकरणमा भारत र चीनको चासो

नेपालको सत्ता समीकरणमा छिमेकी मुलुक भारत र चीनले चासो देखाएका छन्। सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि नेपालमा नयाँ सरकारका लागि तिगडम सुरु भएको छ। यो अवस्थामा काठमाडौंस्थित दुवैै देशका राजदूतहरू राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्। सत्ताको बल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कोर्टमा रहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गरेका छन्। क्वात्राले संसद पुनःस्थापनापछिको राजनीतिक परिस्थितिबारे देउवासँग चासो राखेका थिए। दुवै राजदूतको भेटका विवरण सार्वजनिक गरिएको छैन। सर्वाेच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बुधवार देउवा निवास पुगेका थिए। देउवा निवासमा बिहीबार कांग्रेस पदाधिकारी बैठक पनि बसेको थियो। बैठकले पर्ख र हेरको रणनीति लिएको छ। कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेकपाको आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ। भारतले भन्यो- नेपालको आन्तरिक मामिला, चीन मौन प्रतिनिधिसभा पुनर्स्थापनाबारे भारतले औपचारिक धारणा सार्वजनिक गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका हुन्। उनले भनेका छन्, ‘हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो।’ यो विषयमा चीनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

ताजा अपडेट

नेपालवाच विशेष