NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

वायु सेवा निगममा पाइलटका दु:ख – एक करोड खर्चेर पढ्यो, तलब २४ हजार !

काठमाडौं । नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा लाइसेन्सप्राप्त पाइलटले जम्मा २४ हजार मात्र पारिश्रमिक बुझ्नुपर्ने अवस्था आएको छ । निगमको चिनियाँ जहाज ग्राउन्डेड भएसँगै जहाजमा कार्यरत पाइलटले पाउँदै आएका ४५ घण्टे न्यूनतम उडान अवधि (मिनिमम ग्यारेन्टेड आवर्स) वापत पाउनुपर्ने सुविधा कटौती भएसँगै पारिश्रमिक २४ हजारमा झरेको हो । गत १६ साउनदेखि निगमले ६ थान चिनियाँ जहाज ग्राउन्डेड गरेसँगै ती जहाज उडाउने निगमका १५ पाइलट कामविहीन भएका थिए । जहाज ग्राउन्डेड भए पनि निगमले उनीहरूको तलव भने भुक्तानी गर्दै आएको थियो । जहाज ग्राउन्डेड भएपछि भूमिकाविहीन भएका उनीहरूको अहिले आएर पाएको तलव र सुविधा पनि कटौती भएको छ । यसअघि ४५ घण्टाको अवधिसम्म जहाज उडाए पनि नउडाए पनि पाइलटहरूले मासिक ५४ हजार न्यूनतम भत्ता बुझ्दै आएका थिए । तर, जहाज ग्राउन्डेड भएको कारण देखाउँदै निगमले गत माघदेखि पाइलटहरूको उक्त मासिक भत्ता सुविधा कटौती गरेको हो । मासिक भत्ता सुविधा कटौती भएसँगै ती पाइलटहरूले गत माघमा मासिक तलव अर्थात् २४ हजार मात्र बुझे । पाइलटहरूको विरोध निगममा तीनपटकसम्म अपरेशन डाइरेक्टर भएका ज्ञानेन्द्रपुरुष ढकालका अनुसार पाइलटहरूको पारिश्रामिक उनीहरूले गर्ने उडानमा आधारित हुन्छ । तर, सधैं उडान हुन्छ भन्ने निश्चित हुँदैन । मौसम, प्राविधिक समस्यालगायतका समस्याले नियमित उडानमा बाधा पुर्याइरहेका हुन्छन् भने कहिले जहाज नै ग्राउन्डेड भएका हुन्छन् । ढकाल भन्छन्, ‘पाइलटको कुनै पनि गल्ती तथा कमी कमजोरी बिना नै उसको पारिश्रामिकमा ५० प्रतिशत भन्दा बढी कटौती नहोस् भन्नका लागि यो सुविधा महत्वपूर्ण छ ।’ यही मासिक भत्ता सुविधा कटौती भएसँगै निगमका पाइलटहरू आन्दोलित भएका छन् । चिनियाँ जहाजका पाइलट बादल गुप्ता व्यवस्थापनले गलत निर्णय गरेको बताए । निगमको यस्तो निर्णय आफूहरूलाई मान्य नहुने उनी बताउँछन् । ‘यो निर्णय मान्य नहुने भनेर हामीले व्यवस्थापनसमक्ष निवेदन दिएका छौं ।’ गुप्ता भन्छन् । चिनियाँ जहाजकै अर्का पाइलट प्रशान्त शाह पनि मासिक भत्ता सुविधा कटौती गर्ने निगमको निर्णय स्वीकार्य नहुने बताउँछन् । जहाज उडाउनेतर्फ ध्यान नदिने र त्यहाँ कार्यरत् पाइलटको अन्यत्र व्यवस्थापनको विकल्प पनि नसोच्ने निगम व्यवस्थापनको कमजोरीको मर्का पाइलटलाई परेको शाह बताउँछन् । नउड्ने जहाजको भत्ता दिन अर्थ मन्त्रालयलाई अख्तियारको डर अर्कातिर अर्थ मन्त्रालयलाई भने उड्दै नउडेको जहाजका लागि भत्ता दिँदा कारवाहीमा पर्ने डर छ ।अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार उड्दै नउड्ने जहाजको भत्ता दिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने सम्भावना भएकाले कटौतीको निर्णय भएको हो । ती अधिकारी भन्छन्, ‘भोली अख्तियारले समात्यो भने यसको जवाफदेही को हुने ? पाइलटहरूले निगममा रहँदा आफ्नो भलो नहुने देख्ने हो भने निजी एयरलाइन्स कम्पनीहरू पनि छन् । जागिर छोडेर जान पनि सकिन्छ । कुनै व्यक्तिको फाइदाका लागि संस्था धरासायी हुने बाटोतिर लाग्न सक्दैन ।’ ‘संस्था धरासायी हुँदा यस्तो निर्णय लिनु एक हिसाबले ठिक पनि हो,’ निगम स्र्रोतले नेपालवाचसँग भन्यो, ‘तर, पाइलटहरूको व्यवस्थापन चाँही कसले गर्छ ? यसको ख्याल गर्नुपर्दैन ?’ निगम व्यवस्थापन स्रोतका अनुसार ती पाइलटहरूलाई ट्वीनअटरको तालिम दिन तयारी थालिएको बताउँछ । हाल निगमसँग तीन वटा ट्वीनअटर छन् । चिनियाँ जहाजका पाइलट ट्वीनअटर लाँदा पुनः अर्को समस्या सिर्जना हुने देखिन्छ । विगतमा पनि निगमको तलब सुविधा कम भएको भन्दै पाइलटहरूले धमाधाम जागिर छोड्ने प्रवृत्ति थियो । यसलाई रोक्न ४५ घण्टासम्मको सेवा–सुविधा यथावत राख्ने निर्णय निगम सञ्चालन समितिबाटै पारित भएको थियो । निगमका पूर्व अपरेशन डाइरेक्टर ढकालका अनुसार त्यतिबेला अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ जहाज ग्राउन्डेड हुँदा पाइलटहरूले जागिर छोड्ने प्रवृत्ति बढ्न थाल्यो । पाइलटले जागिर छोड्ने प्रवृत्ति रोक्नकै लागि आफ्नै अगुवाइमा ४५ घण्टाको न्यूनतम ग्यारेन्टेड अवधिभरको तलब सुविधा दिनुपर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गराएको ढकाल बताउँछन् । एक करोड खर्चेर पाइलट, न्यून तलवले निगमप्रति नै विकर्षण पाइलट बन्नको लागि अध्ययन गर्न कम्तीमा पनि एक करोड रुपैयाँ खर्च हुने पाइलटहरू बताउँछन् । चिनियाँ जहाजका कतिपय पाइलटहरू आफू पाइलट पढ्दाको ऋण नै बुझाइनसकेको बताउँछन् ।घरजग्गा नै धितोमा राखेर पाइलट पढेका कतिपय पाइलटहरू मासिक २४ हजार तलवले मर्कामा परेका छन् । न्यूनतम तलव सुविधा पनि नदिने यस्तो प्रवृतिले भविश्यमा निगमप्रति नै विकर्षण पैदा हुने यता पाइलटहरू बताउँछन् । केही महिनाअघिमात्रै निगमका प्रबन्ध निर्देशक डिम प्रकाश पौडेलले बिजनेस प्लान सार्वजनिक गरेका थिए । जसमा अबको १० वर्षमा निगमले एक दर्जन जहाज थप्ने उल्लेख गरिएको छ । जहाजको संख्या मात्रै बढाएर पाइलटलाई दिने सेवासुधिवामा भने ध्यान नदिँदा भविश्यमा निगमलाई हेर्ने पाइलटको दृष्टिकोण नै नकारात्मक हुनसक्ने निगम स्रोत बताउँछ । पाइलटहरूको ग्यारेन्टेड समयाधिको सुविधा फिर्ता नभए आन्दोलन गर्ने चेतावनी निगमको कर्मचारी संघले चिनियाँ जहाजको उचित व्यवस्थापन गर्न र पाइलटहरूले पाउँदै आएको ग्यारेन्टेड अवधिको सुविधा फिर्ता गर्नुपर्ने माग गरेको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने संघको चेतावनी छ । ‘माग पूरा नभएमा पोष्टिङ कमिटी सदस्यहरूको कार्यकक्ष घेराउ गछौं,’ संघका अध्यक्ष मानबहादुर कुँवरले भने, ‘त्यति गर्दा पनि नभए विरोध स्वरुप महाप्रबन्धकको कार्यालय घेराउ गर्नेछौं ।’ संघले यसवाहेक निगममा हुँदै आएका अन्य बेथितिबारे पनि विरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष