NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

ओलीले अझै तीन महिना प्रधानमन्त्री नछाड्ने, छाड्नैपरे देउवालाई दिने

प्रचण्ड–माधवकुमार नेपाल र शेरबहादुर देउवामा खेलेर ओलीले अझै तीन महिना प्रधानमन्त्रीको कुर्सीमा रहन सकिन्छ भन्ने रणनीति बनाएका छन् । त्यसबेलासम्म प्रचण्ड–माधवकुमार नेपाल सहमतिमा नआए ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्ने योजना बनाएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै तीन महिना प्रधानमन्त्रीको कुर्सी नछोड्ने नीति लिएका छन् । बालुवाटार निकट स्रोतका अनुसार आफू निकटहरुसँग ओलीले अझै तीन महिना प्रधानमन्त्रीको कुर्सीमा रहिरहन सक्ने बताएका हुन् । प्रतिनिधि सभाको बैठक भने प्रधानमन्त्री ओलीले सर्वोच्चले परमादेश गरिदिएकै मितिमा बोलाउने भएका छन् । सर्वोच्चले तोकिदिएकै मितिमा बैठक नबोलाउने हो भने ओलीमाथि अदालतको मानहानी मुद्दा लाग्छ । त्यसैले पनि उनले निर्धारित मितिमै बैठक बोलाउने भएका हुन् । नेकपाको विभाजनले औपचारिक र कानूनी मान्यता पाएको छैन । कानूनी मान्यता नपाउन्जेल नेकपाको संसदीय दलको नेता ओली नै हुनेछन् । संसदीय दलको उप नेता पनि ओली पक्षकै सुवास नेम्वाङ छन् । शुक्रबार मात्रै ओलीले प्रचण्ड–माधवकुमार नेपाल समूहमा रहेका देव गुरुङलाई हटाएर आफ्ना विश्वासपात्र खोटाङका विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतक बनाएका छन् । प्रमुख सचेतकले दलका नेताको निर्देशनमा आफ्नो पार्टीका सांसदहरुलाई ह्वीप लगाउन सक्छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउन मत दिन्छन्, दिँदैनन् ? स्पष्ट भइसकेको छैन । प्रचण्ड–माधवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम प्रधानमन्त्रीमा सिफारिस गर्न सक्छन् । ओलीलाई संसदीय दलको नेताबाट हटाउन प्रचण्ड–माधव नेपाललाई केही व्यवहारिक र कानूनी जटिलता छन् । ती जटिलता के भने ओलीलाई संसदीय दलको नेताबाट हटाउन सबभन्दा पहिले उनले बैठक डाकिदिनुपर्छ । ओली बैठक डाक्ने पक्षमा छैनन् । उनले बैठक नडाकी दिएपछि प्रचण्ड–माधव नेपालले आफ्नो खेमाको बैठक डाकेर संसदीय दलको नेता अर्को पात्रलाई चुनेको घोषणा त गर्न सक्छन् । तर, त्यसले वैधानिकता पाउन ग्राहो छ । ओलीले प्रचण्ड–माधव नेपालले चुनेको अर्को नेतालाई मान्यता नदिने निश्चित छ। बालुवाटार स्रोतका अनुसार बरु आफूसँग सहमति गर्न आए प्रचण्डलाई प्रधानमन्त्री बनाएर पार्टी चलाउन ओली तयार बनेका छन् । तर, प्रचण्ड–माधव समूह अहिले ओलीसँग सहमति गरेर जाने पक्षमा छैनन् । बरु उनलाई जसरी हुन्छ, कारवाही गर्ने योजनामा छ । तर, संसदीय दलको नेताबाट ओलीलाई कारवाही गर्न प्रचण्ड–माधवलाई सजिलो भने पक्कै छैन । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–माधव समूहले संसदमा अविश्वास प्रस्ताव पेश गरेर हटाउने उपाय निकाल्न सक्छन् । त्यसका लागि पनि उनीहरुलाई सहज छैन । पहिलो कुरा त प्रचण्ड–माधवले ओली विरुद्ध अविश्वास प्रस्ताव राखेर मात्र हुन्न । अविश्साव प्रस्ताव अघि बढाउँदा सम्भावित प्रधानमन्त्रीको नाम पनि पेश गर्नुपर्छ । प्रचण्ड–माधवले दुई मध्ये आफैं एक जनाको नाम पेश गर्न सक्छन् । तर, उनीहरु प्रधानमन्त्री निर्वाचित हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मत दिनुपर्छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउन मत दिन्छन्, दिँदैनन् ? स्पष्ट भइसकेको छैन । प्रचण्ड–माधवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम प्रधानमन्त्रीमा सिफारिस गर्न सक्छन् । यद्यपि नेकपा कानूनी रुपमा एक हुँदाहुँदै देउवा प्रधानमन्त्री बन्न राजी हुन्छन्, हुन्नन् ? टुङ्गो छैन । कांग्रेसले बिहीबार मात्रै पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसी दुवै पक्षसँग सामान्य संवाद भए पनि नेकपा एउटै रहेसम्म सम्भावित सत्ता समीकरणबारे छलफल नै नगर्ने जनाए दिएको छ।‘विधिवत रुपमा नेकपाको निर्णय के हो ? उनीहरु एउटै पार्टीमा छन् । ओली संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री छन्। उनीहरुको वैधानिक टुंगो लागेपछि मात्रै कांग्रेसले औपचारिक रुपमा छलफल र निर्णय गर्ने भन्ने छ’ देउवा निवासमा भएको छलफलमा सहभागी नेता अर्जुननरसिंह केसीले नेपालवाचसँग भने, ‘दुवै पक्षसँग छलफल गर्ने, सहयोग र असहयोगको कुरा नगर्ने, संवैधानिक हैसियतमा उनीहरु एउटै पार्टी भए हामी प्रतिपक्षमा बस्ने हाे । होइन उनीहरुको संसदीय दल दुईवटा हुन्छ भने हामी छलफलमा सहभागी हुन्छौं ।’ ओली पक्षका दावीमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार हुने छैनन् । साथै, उनीहरुले सिफारिस गरेकै भरमा देउवा पनि प्रधानमन्त्रीका लागि राजी हुने छैनन् । प्रचण्ड–माधव नेपालको यही कानूनी, व्यवहारिक जटिलता र अर्कमण्यतामा खेलेर ओलीले अझै तीन महिना प्रधानमन्त्रीको कुर्सीमा रहि रहन सक्ने निष्कर्ष निकालेका हुन् । ‘प्रचण्ड–माधवकुमार नेपाल र शेरबहादुर देउवामा खेलेर ओलीले अझै तीन महिना प्रधानमन्त्रीको कुर्सी रहन सकिन्छ भन्ने निश्कर्ष निकाल्नु भएको छ’, स्रोतको भनाई छ, ‘त्यसबेलासम्म प्रचण्ड–माधवकुमार नेपाल सहमतिमा नआए ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्नु हुनेछ ।’

ताजा अपडेट

नेपालवाच विशेष