सर्वोच्चको फैसलाले फोहोरी खेललाई बढायो : पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक फोहोरी खेललाई बढावा दिएको बताएका छन् । ओली निकट अनेरास्ववियुले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा गरेको उपत्यका भेलालाई सम्वोधन गर्दै उनले अदालतको फैसलापछि देश झन् अस्थिरतामा प्रवेश गरेको बताएका हुन् । ‘केपी ओलीले गत ५ पुसमा चालेको कदमको पक्षमा देशभर उत्साह देखियो, जनलहर देखियो, तरपनि सर्वोच्च अदालतको फैसलाले चुनावलाई प्रभावित पार्याे र ती उत्साह र खुशीलाई निस्तेज पार्याे’ पोखरेलले भने, ‘सर्वाेच्चको फैसलाले नेपालको राजनीतिक इतिहासको फोहोरी खेललाई पुनः बढावा दिएको छ ।’ २०५२ सालदेखि नेपालको संसदीय व्यवस्थामा जसरी फोहोरी खेल हुन्थ्यो त्यही फोहोरी खेल दोहाेरिने भन्दै उनले सर्वाेच्चको फैसलालाई मानेता पनि सम्मान भने गर्न नसकिएको प्रष्ट्याए । मुलकलाई अस्थिरताबाट रोक्नका लागि प्रधानमन्त्रीले बाध्यात्मक रुपमा प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको जिकिर थियो । प्रधानमन्त्रीले विचारमा स्खलित भइसकेका, फोहोरका छिटाहरु देखिएकाहरुबाट भन्दा नयाँ जोस, नयाँ जागर, उत्साह भएका युवाहरुलाई पार्टी नेतृत्वमा ल्याउन खोजेपछि प्रचण्ड–नेपालहरुले विरोध गरेको दाबी गरे । ‘युवा पंक्तिलाई पार्टीमा ल्याउनुपर्छ भनेर ओली लाग्दा हामीलाई सिध्याउने भयो, भनेर विगतमा ३३ वर्षदेखि पार्टीको नेतृत्व सम्हालेर नअघाएकाहरु, विगत १७ वर्षदेखि पार्टीको नेतृत्व गरेकाहरुकै लोभका कारण अहिलेको अवस्था आयो’ उनले भने, ‘आफ्नै दुईतिहाईको पार्टीलाई काम गर्न नदिएर घेरावन्दी हालेर हिडेकाहरु प्रधानमन्त्री खोज्दै हिड्नु एउटा लज्जाको कुरा हो । वैरी पार्टीको नेतासामू गएर लम्पसार भएर प्रधानमन्त्री बनिदिनुस् भन्नु जतिको घिनलाग्दो कुरा के होला ?’ यस्तो बेलामा अनेरास्ववियूको भूमिका झन् बढी सान्दर्भिक हुने पनि बताए ।
प्रतिक्रिया