भ्रष्टाचार नियन्त्रणको काम विगतको भन्दा प्रभावकारी हुने आयुक्त राइको प्रतिवद्धता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने, ‘नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छन भने भ्रष्ट्राचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुपर्यो । यहाँ धेरै भ्रष्ट्राचार व्याप्त छ भन्ने आवाजहरु उठाइराख्नु भएको छ ।नागरिकहरुले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाईराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानून सम्मत तरिकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने र जनताको अपेक्षा अनुसारको भ्रष्ट्राचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु ।’ प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहटने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । यस्तै, निर्दोश व्यक्तिलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउने कुनैपनि व्यक्तिलाई पनि कारबाही गर्ने बताए । उनले भने, ‘मेरो कार्यकालमा भ्रष्ट्राचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन तर निर्दोश व्यक्तिलाई यदि कोही निर्दोश छ भने उसलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन । मलाई तपाईहरुले यस्तो सम्मान दिनुभएको छ त्यो सम्मानलाई जोगाएर राख्नेछु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास मेरो रहनेछ ।’
प्रतिक्रिया