स्वदेशी उपचारमा उच्च पदस्थकै अविश्वास : सामान्य परीक्षण गर्नसमेत विदेश, सरकारी अस्पतालको ‘भिआईपि कक्ष’ मा ताला

– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई यही ९ फागुनमा स्वास्थ्य उपचारको लागि भारत गए । उनको सचिवालयले जारी गरेको सूचना अनुसार पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परिक्षण गर्दा न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएकाले चिकित्सकको सल्लाह र सिफारिशमा भट्टराई भारत गएका हुन् । भारतको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिभरी साइन्सेस’मा भट्टराईले स्वास्थ्य परीक्षण गराइरहेका छन् । – अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पनि स्वास्थ्य उपचारका लागि भन्दै गत ३० माघमा भन्दै भारत प्रस्थान गरे । नियमित स्वास्थ्य परीक्षणका लागि खनाल दिल्ली गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् । खनालको स्वास्थ्य परीक्षण दिल्लीस्थित अपोलो अस्पतालमा भएको थियो । रिजालका अनुसार मस्तिष्कसँग सम्बन्धित समस्याबाट ग्रस्त रहेका खनालको नियमित परीक्षणका लागि भारत लगिएको थियो । उनले भने, ‘उहाँ यही रोगको परिक्षणका लागि यसअघि पनि चीन र अमेरिका गइसक्नु भएको छ । अस्ति भारत गएर परीक्षण गराउनु भएको हो ।’ – अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई पनि २० पुसमा उपचारको लागि भारत लगिएको थियो । दाहाललाई भारतको मुम्बईस्थित न्युरोजेन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा भर्ना गरिएको थियो । पार्किन्सनजस्तै समस्या हुने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) नामक बिरामीबाट ग्रासित सिता दाहाललाई यसपटक भारत लैजानुअघि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै लागि प्रचण्डपत्नी दाहाल यसअघि पनि अमेरिका, सिंगापुर र भारत गएकी छिन् । स्वास्थ्य उपचारमा नेता तथा भिआइपीहरूको विदेश मोह झल्काउने यी पछिल्ला उदाहरणमात्र हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटकको मृगौला प्रत्यारोपण नेपालमा गराएपनि उपचारको लागि थुप्रै पटक विदेश यात्रा गरिसकेका छन् । राष्ट्रपति विध्यादेवी भण्डारीदेखि पूर्व राष्ट्रपति डा. रामवरण यादव, नेकपाका नेता तथा पूर्वमन्त्रीहरू जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीलगायत थुप्रैले विदेश चहारेर उपचार गराएका छन् । मुलुकभित्रै स्वास्थ्य उपचारका नयाँ प्रविधिहरू विकसित भइरहँदा त्यसलाई उपेक्षा गरेर विदेश जाने परिपाटी प्रवृत्तिकै रुपमा विकसित भएको यी उदाहरणले प्रष्ट्याउँछन् । तर, वीर अस्पतालले छुट्याएको भिआईपि कक्ष रित्तै भिआईपि तथा राजनीतिक नेताहरू सामान्य उपचारका लागिसमेत विदेश धाइरहँदा स्वदेशमै उनीहरूका लागि भनेर छुट्याइएका उपचार कक्ष भने रित्तै छन् । अहिले वीर अस्पतालमा अति विशिष्ट (भिभिआईपि) र भिआईपि (विशिष्ट) कक्ष छन् । तर, ती दुई वटै कक्षमा अहिले ताला भुन्ड्याइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डिएन शाहका अनुसार वीर अस्पतालमा भिआईपि र भिभिआईपि कक्षमा एक–एक शैय्या छन् । तर, त्यहाँ उपचार गर्न आउनेको संख्या न्यून रहेको उनी बताउँछन् । ०६२/६३ को जनआन्दोलनअघिसम्म राजपरिवारका सदस्यको उपचारमा प्रयोग गरिँदै आएको यी कक्ष राजसंस्था हटेसँगै सरकारले मंसिर २०७१ देखि भिभिआईपि र भिआईपिहरूको उपचारमा प्रयोग गर्ने निर्णय गरेको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश गरी ६ जना भिभिआइपी अन्तर्गत पर्छन् । त्यस्तै, भिआइपीमा पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत पर्छन् । अस्पतालले आफैंका लागि छुट्याएको विशेष उपचार कक्षमा उपचार छाडेर भिआइपीहरू विदेश जाने गरेका छन् । उपचारमा विदेश मोह, वीर अस्पतालका पूर्व उपकुलपति भन्छन् – यो एक प्रकारको औपनिवेशिक सोच हो आफू वीर अस्पतालमा उपकूलपति कार्यरत् रहँदा नेता तथा राजनीतिक व्यक्ति र प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधिश लगायतको लागि भनेर बनाइएका भिआइपी र भिभिआइपी कक्ष खाली रहेको अनुभव सुनाउँछन, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीर अस्पताल) का पूर्व उपकुलपति डा. गणेश गुरुङ । गुरुङका अनुसार सरकारले वीर अस्पतालमा निर्माण गरेको भिभिआईपि र भिभिआईपि कक्षमा हालसम्म कमैकोमात्र उपचार भएको छ । आफू उपकुलपति हुँदा एक/दुई पटक मात्र ती कक्षहरुमा उपचार भएको गुरुङको अनुभव छ । ‘प्रायः नेताहरू नेपाली अस्पतालमा उपचार नै गराउँदैनन् । गराएपनि निजी अस्पतालमा गराएजस्तो गर्छन्, तर, अन्तिममा उनीहरू जाने भनेको विदेश नै हो ।’ गुरुङ भन्छन् । भिभिआईपि र भिआईपि कक्षहरूको निर्माणमा सरकारले करौडौं रकम खर्च गरेको छ । आवश्यक उपकरणदेखि जनशक्तिसमेतमा निकै ठूलो रकम खर्च भएको छ । तर, भिभिआइपी र भिआइपीहरू उपचारका लागि विदेशिँदा ती कक्षहरू रित्तै छन् । जसका कारण उपकरणदेखि पूर्वाधारको प्रयोग हुन सकेको छैन । ‘नेपाली राजनीतिक व्यक्तिहरूले नेपालको उपचारलाई विश्वास नै नगरेको हो जस्तो लाग्छ,’ गुरुङ भन्छन्, ‘उपचारको लागि आउँदै नआएपछि हामीले पनि विश्वास कसरी दिलाउने ?’ सकेसम्म सरकारी कोषबाटै नभए व्यक्तिगत खर्चमै भए पनि स्वास्थ्य उपचारका लागि विदेशै धाउने परिपाटी पुरानै हो । यो पछिल्लो समय थप झांगिएर गएको छ । मुलुकभित्रै हुनसक्ने उपचारका लागि पनि उनीहरू विदेश धाइरहेका छन् । प्रतिष्ठानका पूर्व उपकुलपति डा. गणेश गुरुङ नेपालका राजनीतिक व्यक्ति र भिआइपीहरूमा उपचारको विदेश मोह अत्यधिक रहेको बताउँछन् । ‘पछिल्लो समय नेपालमै पनि गुणस्तरीय स्वास्थ्य प्रणाली र उपचारको पद्दति विकास भएको छ,’ उनी भन्छन्, ‘तर, नेपाली राजनीतिक व्यक्तिहरूमा उपचारको लागि विदेश जाने मोह अझैं उस्तै रहेको देखिन्छ, सामान्य समस्या वा दाग देखियो भने पनि उनीहरू विदेश यात्रा गरिहाल्छन् ।’ गुरुङ अहिले नेपालका अस्पतालहरूमा धेरै जसो रोगहरूको उपचार हुने बताउँछन् । सरकारीदेखि निजी क्षेत्रका अस्पतालहरूले नयाँ–नयाँ उपचार पद्दति विकास गरिरहेका छन् । तर, देशमै सेवासुविधा हुँदाहुँदै नेताहरूमा भने उपचारका लागि विदेश कुदिहाल्ने मोह नहटेको उनी बताउँछन् । ‘सम्पन्न व्यक्तिहरूमा पनि अधिकांश उपचारको लागि विदेश नै जाने गरेका छन्,’ गुरुङ भन्छन्, ‘यो एक प्रकारको औपनिवेशिक सोच हो । विदेशी खाना मिठो, विदेशी लुगा राम्रो भनेजस्तै विदेशी उपचार राम्रो भन्ने सोच हाम्रा राजनीतिक व्यक्तिहरूमा छ । देशमा स्वास्थ्य उपचार प्रणालीमा कतिपय धेरै विकास भइसक्यो । तर, उनीहरूमा भएको औपनिवेशिक सोच अझैं हटन सकेको छैन् ।’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डिन अर्जुन कार्की विगत ४०÷५० वर्ष यता नेपाली स्वास्थ्य क्षेत्रमा राम्रो विकास भएको बताउँछन् । नेपालका अधिकांश सरकारी तथा निजी अस्पतालले संसारमा विकसित उपचार प्रविधि, गुणस्तरीय पूर्वाधार र जनशक्ति अपनाएका उनी बताउँछन् । तर, शरिरमा सामान्य दाग देखिदाँसमेत त्यसको परीक्षणका लागि विदेश गइहाल्ने प्रवृत्ति व्यप्त छ । पूर्व राष्ट्रपति रामवरण यादव आफ्नो ढाडमा सामान्य दाग आउँदा पनि उपचारका लागि वैदेशिक यात्रामा गएका थिए । नेपाली उपचारमा अविश्वास प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपणले पनि नेपालमा सामान्यदेखि जटिल सबै किसिमका उपचार हुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । नेपाली चिकित्सकहरुको टोलीले नै नेपालकै अस्पतालमा उनको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफलतापूर्वक गरेको थियो । तर, सरकार प्रमुखकै उपचार सफलता पूर्वक हुँदा पनि अन्य राजनीतिक व्यक्तिहरूले भने नेपाली उपचार प्रणालीमाथि विश्वास गर्न सकेका छैनन् । वरिष्ठ चिकित्सक डा. भगवान कोइराला नेपालको स्वास्थ्य प्रणाली उपचारका लागि सक्षम भइसक्दा पनि त्यसलाई अविश्वास गरेर भिभिआईपि र भिआईपिहरू विदेश गइरहनु उपयुक्त नभएको टिप्पणी गर्छन् । ‘कोभिड लागेको एक वर्ष कोही नेपाली उपचारको लागि बाहिर जान पाएनन् । यो बेला स्वदेशमा उपचार नपाएर कति मरे ?’ उनी भन्छन्, ‘नेपालमा उपचार नै नहुने भए त मान्छे मर्थे नि !’डा. कोइराला भन्छन्, ‘हाम्रो स्वास्थ्य प्रणाली विकास भएको छ । अन्तर्राष्ट्रिस्तरकै भन्नु उपयुक्त नहोला । तर, भारतमा केही स्थानमा मात्रै हुने उपचार पनि नेपालमा सम्भव छ, नेपालमा भएको छ ।’ यसअघि कोइरालाकै समूहले क्यानडामा तीन दिनसम्म भेन्टिलेटरमा राखेको र आधा अपरेसन भएको व्यक्तिको उपचार गरेको थियो । कोइरालाका अनुसार गंगालाल अस्पतालमा उनकै समूहले ती व्यक्तिको शल्यक्रिया गरेको थियो । योसँगै नेपाली अस्पतालहरूमा अहिले मुटुको बाहेक सबै अंगहरूको प्रत्यारोपण पनि सम्भव छ र भइ नै रहेको छ । तर, नेताहरूमा भने अझैं पनि विदेशमा नै उपचार गर्न जाने मोह यथावत नै छ । ‘अहिले धेरैजसो सरकारी र निजी अस्पतालहरूमा गुणस्तरिय सेवा सुधिवा उपलब्ध छ । तर, यसलाई अविश्वास गरेर नआएपछि तानेर ल्याउने र उपचार गरेर विश्वास दिलाउने भन्ने त हुँदैन नि !’ प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङ भन्छन्, ‘नेताहरूलाई विश्वास छैन्, उनीहरू आउँदैनन् । तर, आम मानिस यहीँ उपचार गराएर स्वस्थ भइरहेका छन् ।’ भिआईपी तथा नेताहरूले नेपाली अस्पताललाई विश्वास नगर्नुको कारण कतिपय अवस्थामा यहाँका चिकित्सकहरूले आफ्नो ज्ञानको सीमिततालाई नस्विकार्नु रहेको बताउँछन्, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डिन अर्जुन काकी । उनी भन्छन्, ‘कतिपय अवस्थामा हाम्रा चिकित्सकहरूले पनि आफूले नजानेको कुरा जानेको छैन् भन्दैनन् । यता उता गरेर विभिन्न चेक गराउँछन् । यसले पनि कतिपय अवस्थामा हाम्रा अस्पताल र चिकित्सकमाथि अविश्वास पैदा गरेको छ ।’ तर, उपचारको लागि विदेश जानुभन्दा नेपालकै उपचार पद्दति र स्वास्थ्य सेवा प्रणालीमा सुविधा सुदृढ गर्नमा ध्यान दिनुपर्ने बताउँछन् कार्की ।
प्रतिक्रिया