NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कर फर्स्योट अनियमिततामा दोस्रो मुद्दाको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगबाट भएका कर मिनाहाका बाँकी फाइलमाथि अनुसन्धान सकेर मुद्दा दायर गर्ने भएको छ । अख्तियारले २०७१ सालमा गठित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव भई काम गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध दोस्रो मुद्दा दायर गर्ने तयारी गरेको हो । शर्माको बयान लिइरहेको अख्तियारले बाँकी अनुसन्धानका सबै प्रक्रिया पूरा भइसकेको स्रोतले जनाएको छ । अख्तियारले २०७४ साउन १ मा आयोगका तत्कालीन पदाधिकारीहरू महत, ढकाल र शर्माविरुद्ध जनही ३ अर्ब ३४ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको थियो । बिगो र जरिवाना जोड्दा हरेकमाथि करिब १० अर्ब रुपैयाँका दरले मागदाबी थियो । झन्डै चार वर्षदेखि विशेष अदालतमा उक्त मुद्दा विचाराधीन छ । आयोगबाट २१ अर्ब रुपैयाँ कर मिनाहा भएकामा अख्तियारले पहिलो चरणमा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको फाइलमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । सोही अभियोगपत्रमा बाँकी फाइलमाथि छानबिन भइरहेकाले अनुसन्धान सकिनासाथ मुद्दा पेस गरिने भनी निर्णयको प्रतिलिपि पठाइएको थियो । कान्तिपुर दैनिकमा खबर छ।