NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

लमजुङ । दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा रहेका छन् । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मंगलबार दिउँसोदेखि बुधबार बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । उनले भने – ‘९ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरमा भएको सबै सामान बगाएको छ ।’ एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ । त्यस्तै, पाँच – ६ वटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए । ती तारले झोलुङ्गे पुल अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । ‘विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलोचोटि नै हो’ – वडाध्यक्ष घलेले भने । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने उनको भनाइ छ ।