बालुवा पेलेर तेल निस्कनु र ओली सुध्रिनु उस्तै : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु बताए । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको भन्दै नेपालले ‘बालुवा पेलेर तेल निस्किदैन’ तरपनि कोसिस गर्नुस भनेको बताए । ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरी उहाँ (प्रचण्ड)लाई दोष् जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले’ उनले भने, ‘४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तिमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरी कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस ।’ अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पारे । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले भने ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’ अहिले प्रतिनिधि सभा पुनस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । उनले भने ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाई गर्नुछ ।’ केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताए । ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाए । ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’ बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत आरोप लगाए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको उनले बताए ।
प्रतिक्रिया