सुरु भयो प्रि-मनसुन, यो सिजनमा हावाहुरी, चट्याङ र असिनापानीको भय

जल तथा मौसम विज्ञान विभागले नेपालमा प्रि-मनसुनको घोषणा गरेको छ। हिउँदयाम सकिएसँगै सोमबारबाट प्रिमनसुन अर्थात् बसन्त ऋतु सुरु भएको हो। मौसमविदहरुका अनुसार यो सिजनमा अपरान्ह र साँझ तिर मेघगर्जन र चट्याङ्गको सम्भावना रहनुको साथै हावाहुरी र असिनापानीको सम्भावना पनि रहन्छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनापानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया