NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

‘कोरोनाविरुद्धका चिनियाँ खोपको प्रभावकारीता न्यून’

बेइजिङ । चीनका रोग नियन्त्रणसम्बन्धी एक उच्च अधिकारीले त्यहाँ हाल प्रयोगमा रहेका कोरोना भाइरसविरुद्धका खोपहरु कम प्रभावकारी रहेको बताएका छन् । शनिबार पत्रकार सम्मेलनमा चाइनिज सेन्ट्रल फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुख गाओ फूले कोरोनाबाट सिर्जित कमजोरीलाई हाल उत्पादित खोपले निकै कम मात्रामा मात्रै सम्बोधन गरेको बताएका हुन् । उनले चीनले खोपलाई संयोजन गरी प्रभावकारीता वृद्धिका लागि काम गरिरहेको पनि जानकारी दिएका थिए । चीनले हालसम्म ४ वटा खोप उत्पादन गरी प्रयोगमा समेत ल्याइसकेको छ । जुन अन्य मुलुकमा गरिएको परीक्षणमा ५० प्रतिशतभन्दा कम प्रभावकारी पाइएको बीबीसीले लेखेको छ । चीनमा हालसम्म १० करोडभन्दा बढीले खोपको कम्तिमा एक मात्रा लिइसकेका छन् । चीनले भने सबै खोपहरु उच्च प्रभावकारी पाइएको दाबी गरेको छ । उसले आफूले उत्पादन गरेका कुनै पनि एक खोप लिएका विदेशीलाई मात्रै चीन आउन भिसा दिइने पनि स्पष्ट पारेको छ । फूले शनिबारको पत्रकार सम्मेलनमा हाल प्रगोगमा रहेका खोपले कोरोना संक्रमण हुन नदिन उच्च तहको सुरक्षा नदिने बताएका थिए । उनले चीनले खोपको प्रभावकारीता वृद्धिका लागि यसको मात्रा र समयमा परिवर्तन गरी ‘बुस्टिङ’ बारे काम गरिरहेको पनि बताएका थिए । ‘रोगविरुद्धको प्रतिरोधक क्षमतालाई बढाउन विभिन्न खोपलाई संयोजन गर्न लागिएको हो,’ उनले भनेका थिए । तर उनले यो वक्तव्यलाई भोलिपल्टै फिर्ता लिएका छन् । सरकारी पत्रिका ग्लोबल टाइम्ससँगको कुराकानीमा उनले पत्रकार सम्मेलनमा आफूले भनेको कुरालाई गलत बुझिएको दाबी गरेका छन् । ‘विश्वभर हालसम्म उत्पादित सबै खोपहरुको प्रभावकारीता कुनैबेला उच्च र कुनैबेला कम हुने गरेको छ,’ उनले भनेका छन्, ‘खोपको प्रभावकारीतालाई कसरी बढाउने भन्नेमा नै विश्वभरका वैज्ञानिकहरु लागिपरेका छन् ।’ उनको अघिल्लो भनाइलाई अधिकांश चिनियाँ मिडियाले प्रकाशन र प्रशारण गरेका थिएनन् । उनको उक्त वक्तव्यलाई लिएर चिनियाँ सामाजिक सञ्जाल ‘विबो’ मा अनेक टीकाटिप्पणी भइरहेको छ । कतिपय प्रयोगकर्ताले उनले ‘बोल्न बन्द गर्नुपर्ने’ सुझाएका छन् । यसअघि विश्यव्यापी रुपमा प्रकाशनमा ल्याइएका केही तथ्यांकअनुसार चिनियाँ खोपहरुले लामो समयसम्म कोरोनाबाट नजोगाउने देखिएको थियो । ब्राजिलमा गरिएको परीक्षणमा चिनियाँ ‘सिनोभ्याक’ खोपको प्रभावकरीता ५०.४ प्रतिशत मात्रै पाइएको थियो । विश्वव्यापी प्रयोगका लागि अनुमति पाउन कम्तिमा ५० प्रतिशत प्रभावकरी हुनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नियम छ । तर सिनोभ्याकको अन्तरीम परीक्षणका क्रममा टर्की र इन्डोनेसियामा क्रमशः ९१ र ६५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो । अर्कोतर्फ बायोएनटेक/पीफाइजर, मोडेर्ना, अस्ट्राजेनेकालगायत पश्चिमा मुलुकहरुमा उत्पादित सबै खोपहरुको अन्तरीम परीक्षणमा भने ९० प्रतिशत वा सोभन्दा बढी प्रभावकारीता पुष्टि भएको थियो । चीनले ८ लाख मात्रा सिनोभ्याक खोप नेपाललाई समेत अनुदानमा दिएको थियो । उक्त खोप अहिले प्रगोगसमेत भइरहेको छ । यसबाहेक चीनले आफूले उत्पादन गरेका खोपहरु प्रयोगका लागि विश्व समुदायमा आग्रहसमेत गरिरहेको छ । हालसम्म इन्डोनेसिया, पराग्वे, टर्की र ब्राजिलमा लाखौं मात्रा खोप पुर्‌याइसकिएको छ ।