NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्नका गरेको सिफारिस तत्काल कार्यान्वयन नगर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । शिक्षा मन्त्रालयमा आज बिहान भएको छलफलमा कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने बताए । कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्छ उनको भनाइ थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनि कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताए । सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने बताए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न सुझाव दिए । उनले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको बताए ।