NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेपालमा सोमबार कोरोनाबाट १३ जनाको मृत्यु, संक्रमण दर दोब्बर

काठमाडौं । भारतमा भयावह बन्दै गरेको कोरोना भाइरसको दोस्रो लहरको प्रभाव नेपालमा पनि पर्दै जान थालेको छ । सोमबार मात्रै नेपालमा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै, कोरोना संक्रमणको दर पनि दैनिक दोब्बर हुँदै जान थालेको छ । आइतबार ३६७ जनामा कोरोना पुष्टि भएकोमा सोमबाार करिब दोब्बरले बढे ५५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर निकै उच्च दरमा बढ्दै गएको बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको चार हजार तीनसय ७८ पिसिआर मध्ये चारसय ९६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, एन्टीजेन परीक्षणमा भने ६३ जना संक्रमित भेटिएका छन् । यस्तै सोमबार कोरोना संक्रमणबाट एकैदिन १३ जनाको मृत्यु भएको छ । मन्त्रालयले मृत्युदर एकैपटक यति धेरै बढ्नु चिन्ताजनक भएको बताएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ५३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५पुगेको छ।