NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

गाउँपालिकाको लापरबाहीले हुम्लामा गर्भवतीको ज्यान गयो

काठमाडौं । समयमै उद्धार हुन नसक्दा हुम्लामा एक गर्भवतीकाे अकालमै ज्यान गएकाे छ । सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी हुम्लाको चंखेली गाउँपालिका–५ नेप्काकी ३७ वर्षीय बेल्कु तामाङको अस्पताल पुग्न नपाएरै ज्यान गएकाे हाे । तीन दिनदेखि प्रशव पीडा लागेकी तामाङलाई समयमै उद्धारका लागि गाउँपालिकाले ध्यान नदिएको स्थानीयले बताएका छन् । केही दिनअघि जडीबुटी कोर्न पाटनमा गएपछि उतैबाट प्रशव पीडासहित घर फर्किएकी बेल्कुलाई तीन दिनसम्म पनि उद्धारका लागि प्रयास नगरिएको स्थानीय मदन तामाङले जानकारी दिए । उनका अनुसार बेल्कुको अवस्था गम्भीर भएपछि सोमबार बिहानैदेखि गाउँपालिकासँग सिफारिस गर्न अनुरोध गरिएको थियो । तर, प्रक्रिया मिलाउने भन्दै गाउँपालिकाले ढिलो गरी समन्वय गरेको तामाङकाे भनाइ छ । ९ महिनाकी गर्भवती बेल्कुलाई स्थानीय नेप्का आधारभूत स्वास्थ्य केन्द्रले वैशाख दोस्रो साता डेलिभरी मिति दिएको थियो । बेल्कुका जेठाजु वडाध्यक्ष भैरे तामाङलाई तीन दिनअघि नै उनी बिरामी भएको जानकारी थियो । तर, जडीबुटी कोर्न गएकाले थकानका कारण भएको भन्दै उनी आफैले पनि गाउँपालिकामा खबर गरेनन् । तामाङको स्वास्थ्य अवस्था नाजुक भएको खबर पाउने बित्तिकै आफूले हवाई उद्धारका लागि पहल गरेको भएपनि समयमा गाउँपालिकाको सिफारिस नआएका कारण उनको ज्यान बचाउन नसकेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमूख प्रेमबहादुर सिंहले जानकारी दिए । ढिलोगरी समन्वय भए पनि हेलिकप्टर सुर्खेतबाट उड्न नपाउँदै सोमबार दिउँसो २ बजेतिर घरमै उनको निधन भएको गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाहीले जानकारी दिइन् । ‘हिजो नै हामी सोही वडामा थियौं । उनकै जेठाजु भैरे तामाङ पनि हामीसँगै हुनुहुन्थ्यो’, उपाध्यक्ष शाहीले नेपालवाचसँग भनिन्, ‘उहाँले बुहारी बिरामी भएको कुरा त जानकारी गराउनुभयो । तर, सामान्य नै भएको भन्नुभएको थियो ।’ वडाध्यक्षले नै ढिलो गरी जानकारी गराएका कारण प्रक्रिया मिलाउन ढिलो भएको शाहीले बताइन् । ‘एक त त्यो ठाउँ निकै दुर्गम छ । त्यसैमा हामी आफैंलाई पनि ढिलो गरी खबर भयो । हामीले जिल्ला प्रशासनदेखि सुर्खेतसम्म खबर गर्दा गर्दै ढिलो भयो । हेलिकप्टर उड्नै लाग्दा बेल्कुको निधन भएको खबर आएपछि हेलिकप्टर क्यान्सिल गरेका हौं’, उनले भनिन् । यता जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले आफूहरुलाई पनि ढिलो गरी खबर आएको बताए । उनले भने, ‘पहिल्यै नै बेहोस भइसकेको भन्ने खबर आयो । हामीले सबैतिर समन्वयको प्रयास गरेकै हौं । दुर्गम भएकाले पनि समयमै सम्पर्क हुनसकेन ।’ उनले अघि भने, ‘कसको कारण ढिलाई भएको हो त्याे त म नाम ताेकेर भन्दिन । तर, खबर गर्न चाहिँ ढिला भएकै हो । गाउँपालिकाकै सिफारिस नभए पनि त्यहाँको स्वास्थ्य इकाईले गरे पनि हुन्थ्यो । त्यो पनि हुन नसक्दा अनाहकमै बेल्कुको ज्यान गुम्यो ।’