NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कमलपोखरीमा २० लाख लिटर पानी भरियो, ८५ प्रतिशत काम सकिएको दाबी

काठमाडौं । पुनः निर्मित कमलपाखेरीको बाँकी काम दुई साताभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी दिएको छ । काठमाडौं महानगरपालिकामार्फत पुनः निर्माण भएको कमलपोखरीमा कंक्रिडको संरचना प्रयोग भएको पाइएपछि उपत्यकाव्यापी सम्पदा संरक्षण अभियन्ताहरुले विरोध गर्दै आएका थिए । विरोधपछि पोखरी र आसपासको संरचनालाई प्राचिन शैली दिइएको कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी जय धनञ्जय कँडेल निर्माण सेवा जेभीले बताएको छ । अब फोखरीमा फिनिसिङ, वालमा रंग लगाउने, विद्युत्तीय बत्ती जडान र पोखरीबाहिर फूल तथा बोटबिरुवा रोप्ने काम बाँकी रहेको निर्माण कम्पनीले जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनः निर्माणको निरीक्षणका क्रममा निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुर्इ हप्ता भित्र पुनः निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने बताएका हुन् । निरिक्षणका क्रममा प्रमुख शाक्यले सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । महानगरपालिकाले यसअघि चैत मसान्तभित्र पोखरीको सम्पूर्ण काम सम्पन्न गर्ने बताएको थियो । जसअनुसार निर्माण कम्पनीले काम नगरेको पाइएपछि मेयर शाक्यले सोमबार स्थलगत रुपमै पोखरीको निरीक्षण गरेर चाँडो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । पोखरीलाई पुरानै स्वरुपमा निर्माण गरेपछि करिब २० लाख लिटर पानी भरेको महानगरपालिका सहरी पूर्वाधार विभागका इन्जिनियर प्रेम श्रेष्ठले बताए । ‘पोखरीमा टनाटन पानी भर्न करिब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ । हामी केही दिनभित्रै पूर्ण परिमाणमा पानी भर्छौं,’ उनले भने । कमलपोखरीको ऐतिहासिकता र प्राचीन महत्वलाई ध्यान दिँदै महानगरपालिकाले पोखरी वरपर ढुंगेधारा, अपांगमैत्री संरचना, बगैंचा र पार्कसमेत निर्माण गर्ने योजनासहित काम भइरहेको इन्जिनियर श्रेष्ठले बताए ।