NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मन्त्रिपरिषद् बैठकको निर्णय : तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् सीसीएमसी संयोजक ईश्वर पोखरेलको सहभागितामा हिजो (आइतबार) बसेको कोरोना संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)ले तीन साताका लागि शिक्षण संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आज साँझ बसेको बैठकले उक्त सिफरिसमाथि छलफल गर्दै शिक्षण संस्था साथै कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको हो । सरकारले कोरोना भाइरसको दोस्रो लहरबाट सर्वसाधारणमा जोखिम कम गर्न पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्नेबारे पनि आजको बैठकमा छलफल भएको छ । संयोजक पोखरेलले सरकारका तर्फबाट मंगलबार (भोलि) सार्वजनिक सञ्चारमाध्यममार्फत देशबासीलाई कोरोना सचेतना र नयाँ मापदण्ड पालनाबारे अपिल गर्ने भएका छन् । कोरोनाको नयाँ प्रजातिबाट पछिल्लो समय देखिएको संक्रमणले सिर्जना गर्नसक्ने समस्याका विषयमा मन्त्रिपरिषद् बैठकले छलफल गरेको छ । ‘अहिले देखिएको समस्याको समाधान लकडाउन मात्रै नहुनसक्छ । केही नयाँ विकल्पबारे बैठकमा छलफल भयो । तर निष्कर्षमा पुग्न सकिएन,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘शिक्षण संस्था, सार्वजनिक यातायातलगायत कुनै पनि क्षेत्र तत्काल बन्द गरिने छैन ।’ दोस्रो लहरको संक्रमणले विद्यालय उमेरका बालबालिका र किशोर–किशोरीहरु बढी संक्रमित देखिएकाले विज्ञहरुले दिएको सुझावका बारेमा पनि बैठकमा छलफल भएको छ । सर्वसाधारणबाट शैक्षिक संस्था बन्द गर्न दबाब आए पनि सरकारले विज्ञ र सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ । फाइल तस्बिर