NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रुरु जलविद्युत् परियोजनाको आईपीओ भोलि बिहान बाँडफाँट हुँदै

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले चैत २० देखि २४ सम्म सर्वसाधारणलाई जारी गरेको साधारण सेयर शुक्रबार बाँडफाँट गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार वैशाख ३ को बिहान साढे ८ बजे सेयर बाँडफाँट हुनेछ । कम्पनीले कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर जारी गरेको सर्वसाधारणलाई ३ लाख ७९ हजार १ सय ६७ कित्ता, कम्पनीका कर्मचारीलाई ८ हजार १ सय ५४ कित्ता र नागरिक लगानी कोषलाई २० हजार ३ सय ८५ कित्ता छुट्याएको छ । बिक्री खुलाको अन्तिम दिन चैत २४ सम्म कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५६६ सर्वसाधारणबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आवेदन परेको थियो । कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो । अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा सेयर बिक्री गरिएको थियो । यसअघि फागुन ७ देखि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरी बाँडफाट समेत गरिसकेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत माघ २१ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमति दिएको थियो ।  कम्पनीको इतिहासरुरु जलविद्युत परियोजना कम्पनी ऐन २०६३ बमोजिम २०६२ चैत ९ मा प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको थियो । २०७२ साउन ७ बाट भने पब्लिक लिमिटेडमा परिणत भई सञ्चालनमा छ । गुल्मीको चन्द्रकोट गाँउपालिका–४, ६, ७, र ८ मा निर्माण सम्पन्न ५ मेगावाट क्षमताको माथिल्लो हुग्दी जलविद्युत् आयोजनाको विद्युत् गृह/स्वीचवार्डदेखि सोही जिल्लामा निर्माण भएको ३३ केभी प्रशारण लाइनको वीरबास सबस्टेसनसम्म विद्युत् आपूर्ति भइरहेको छ । यस कम्पनीको कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ । पूँजी संरचना कस्तो छ ?कम्पनीको अधिकृत पूँजी ५० करोड मात्र छ । उक्त पूँजीलाई १०० का दरले ५० लाख थान साधारण सेयरमा विभाजन गरिएको छ । कम्पनीको जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५ सय छ । चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४ सय रुपैयाँ छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई सेयर बाँडफाँट गरेपश्चात् हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको छ । सर्वसाधारणलाई निष्कासन गरको सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५ सय पुग्नेछ । प्रिमियममा सेयर जारी गर्नुको उद्देश्यसर्वसाधारणलाई निष्कासन गरिने सेयरको अंकितमूल्य एक सयमा प्रिमियमवापत २० रुपैयाँ थप गरी प्रतिसेयर १२० रुपैयाँमा जारी गर्न लागिएको छ । कम्पनीले लगातार पछिल्लो ३ वर्षसम्म खुद मुनाफामा रही सेयरधनीहरुलाई बोनस सेयरको रुपमा मुनाफासमेत वितरण गर्दै आएको छ । संगठित संस्थाको प्रतिसेयर चुक्ता पूँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी छ । कम्पनीको २०७६ भदौ ३० मा सम्पन्न वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको र सोही बमोजिम संगठित संस्थाको नियमावलीमा आवश्यक संशोधनसमेत भइसकेको छ । प्रिमियममा सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणमा बिक्री गरिने साधारण सेयरको मूल्यांकनसम्बन्धी कार्य गर्नका लागि संगठित संस्थाभन्दा बाहिरका विज्ञ एसआर पाण्डे एन्ड कम्पनी काठमाडौंद्वारा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा तोकिएको विधिद्वारा मूल्याङ्कन गरी मूल्य निर्धारण गरिएको हो । कम्पनीको वित्तीय अवस्थाआव २०७६/७७ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.८४ रुपैयाँ थियो । प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ थियो । कम्पनीले सो अवधिमा ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । चालु आवसम्म प्रतिसेयर नेटवर्थ १२०.९० रुपैयाँ र नाफा ५ करोड ८५ लाख २९ हजार रुपैयाँ पुर्‌याउने कम्पनीको लक्ष्य छ ।