NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न माओवादीको अपील, एमाले आन्तरिक छलफलमा

काठमाडाैं । नेकपा माओवादी कर्णाली प्रदेशसभा संसदीय दलले भोलि संसद्मा लिने विश्वासको मतका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न प्रदेश सांसदहरुलाई अपील गरेको छ । विकास र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढिरहेको प्रदेश सरकारको नेतृत्वलाई ढाल्न नेकपा एमालेका केही नेतृत्वको सत्तास्वार्थ भएकाले अहिलेको सत्ता टिकाउन आफ्नो पक्षमा मतदान गर्न अपील गरेको हो । नेकपा एमालले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको छ । यसअघि असन्तुष्ट बनेका माधव नेपाल समूहका मन्त्रीहरु मुख्यमन्त्रीकै पक्षमा थिए । तर, अकस्मात उनीहरुले ओली समूहलाई नै साथ दिएपछि मुख्यमन्त्री विश्वासको मत लिने निर्णयमा पुगेका थिए । भोलि अर्थात शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीले सरकारको पक्षमा विश्वासको मत लिँदैछन् । माओवादीले विश्वासको मतका लागि आफ्नो पक्षमा मतदान गर्न अपील गरेसँगै एमाले पनि आन्तरिक छलफलमा जुटेको छ । भोलिको विषयमा छलफल गर्नका लागि आफूहरु बैठकमा बसेको नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले बताए । जम्मा ४० सिट रहेको कर्णाली प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । नेकपा माओवादी केन्द्र, राप्रपा र कांग्रेस गरी जम्मा २० सिट थियो । जसमा माओवादी केन्द्रले सांसद् धर्मराज रेग्मीलाई पदमुक्त गरेसँगै १९ सिट भएको छ । यस्तै यता सभामुखसहित नेकपा एमालेको संसद्मा २० सिट छ । कांग्रेस र राप्रपाले माओवादीलाई साथ दिए पनि विश्वासको मतदानमा १९÷१९ हुनेछ । जसमा सभामुख निर्णायक बन्ने देखिएका छन् ।