NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

अक्सिजन अभावले दिल्लीको गोल्डेन अस्पतालमा २० जना संक्रमितको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजन अभावका कारण शुक्रबार राति २० जनको मृत्यु भएको छ । अस्पतालका डा. डीके बलुजाका अनुसार अक्सिजन अभावका कारण एकैपटक २० जनाको मृत्यु भएपछि सरकारसँग अक्सिजन माग गरिएको छ । अस्पतालमा हाल २६० कोरोनाका गम्भीर बिरामी भर्ना भएका छन् । यता सरोज अस्पतालले भने आफ्नो अस्पतालमा अब कोरोनाका बिरामी राख्न नसकिने बताएको छ । अस्पतालमा अक्सिजन नभएका कारण त्यहाँबाट बिरामीलाई अन्त रेफर गर्न थालिएको छ । दिल्लीमा बिहीबार राति अक्सिजन अभावकै कारण २५ जनाको मृत्यु भएको थियो । यद्यपि अस्पतालले भने उनीहरुको अवस्था गम्भीर भएका कारण बचाउन नसकिएको स्पष्टीकरण दिएको थियो । गंगाराम अस्पतालमा शुक्रबार अक्सिजन अभाव देखिएको थियो । जहाँ सबैभन्दा बढी कोरोनाका बिरामी भर्ना भएका थिए । शनिबार सरकारले अक्सिजन अभाव भएका अस्पतालहरुमा अक्सिजन सप्लाइ गरेको छ । केही दिनेअघि गंगाराम अस्पतालका ३७ जना चिकित्सक पनि कोरोना पोजेटिभ पाइएका थिए । यीमध्ये पाँच जना अस्पतालमा भर्ना भएका थिए । अन्य चिकित्सकलाई होम आइसोलसनमा राखिएको छ । अस्पताल प्रशासनका अनुसार सबै चिकित्सकमा सामान्य लक्षण देखिएको छ । दिल्लीमा पछिल्लो २४ घण्टाको अवधिमा २४ हजार ३३१ नयाँ संक्रमित भेटिएका छन् । सोही अवधिमा २३ हजार ५७२ जना कोरोना मुक्त भएका छन् । यस्तै यही अवधिमा ३४८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । राजधानीमा एकैदिन यति धेरैको मृत्यु भएको यो अहिलेसम्मकै उच्च तथ्यांक हो । दिल्लीमा अहिलेसम्म ९ लाख ८० हजार ६७९ संक्रमित पुगेका छन् । जहाँ १३ हजार ५४१ जनाको मृत्यु भएको छ । एजेन्सी