NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बाँकेको कोहलपुर नगरपालिकामा एक साता लकडाउन

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी लकडाउनको घोषणा गरिएको छ । नगरपालिका क्षेत्रमा दैनिक कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि एकसाताका लागि लकडाउन गर्ने निर्णय भएको हो । शनिकार दिउँसो बसेको कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी बैशाख १९ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो । कोहलपुरमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि कोरोना संक्रमणको चेन तोड्नको लागि लकडाउन गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । उनका अनुसार संक्रमितको उपचार तथा व्यवस्थापनका लागि २५ बेडको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याइनेछ । शनिबारसम्मको तथ्यांक अनुसार कोहलपुरमा २ सय ६१ ज्ना कोरोना संक्रमित छन् । ती मध्ये १ सय ५४ जना पुरुष र १ सय ७ जना महिला रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले कोहलपुरमा ९ जना संक्रमित कोभिड अस्पतालमा उपचारत छन् । अन्य संक्रमित भने होम आइसोलेसनमा रहेको कोरोना फोकस पर्सन गेहराज खनालले बताए । उनका अनुसार पछिल्लो एकसातामा कोहलपुरमा कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा पनि लकडाउन गरिएको छ ।