पीसीआर परीक्षण गरेकामध्ये ९५ प्रतिशतमा संक्रमण
काठमाडौं । सुदूरपश्चिमको कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्नेमध्ये ९५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएको जिल्ला कञ्चनपुरमा दैनिक चार पाँच हजारको संख्यामा नेपाली स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किएकामा समेत कोरोना देखिन थालेपछि थप जोखिम बढेको छ । अस्पतालमा कोरोना संक्रमितका लागि बनाइएका ५० बेड भरिएको अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले बताए । उनका अनुसार ६ बेड आईसीयू र सोही संख्यामा रहेका भेन्टिलेटरमा पनि कोरोनाकै बिरामी छन् । यस्तोमा अन्य रोगका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आए समस्या आउनसक्छ । अध्यक्ष जोशीले भने, ‘६१ कोरोना संक्रमित उपचाररत छन् । बेड पूरै भरिएका छन् । अहिलेकै अवस्थामा हामी थप भर्ना गर्न सक्ने अवस्थामा छैनौँ । तर, बेड बढाउने प्रयास भइरहेको छ । कैलालीमा रेफर गर्न पनि सम्भव छैन । त्यहाँ पनि पूरै बेड भरिएका छन् ।’ उनका अनुसार अस्पतालमा पीसीआर परीक्षण गर्न आएका ९५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अस्पतालकै १४ जना स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित देखिएका छन् । त्यसले सेवा प्रवाहमा थप समस्या आएको छ । कोरोनाबाहेक अन्य बिरामीलाई आईसीयू र भेन्टिलेटर आवश्यक परे व्यवस्थापन गर्न समस्या भएको छ । अस्पतालले आठ आईसीयू बेड थप्न पहल गरेको छ । थप आईसीयू सञ्चालन गर्दा ३० देखि ४० जना जनशक्ति आवश्यक पर्ने अस्पतालको दाबी छ । सुदूरपश्चि प्रदेशमा निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्न मानेका छैनन् । सबैजसो जिल्लाका सरकारी अस्पतालमा संक्रमितको चाप देखिएको बताइएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया