NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

काेराेनाले बढी प्रभावित १० सहरमा लकडाउन गर्ने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टले बढी प्रभाव पारेका क्षेत्रमा लकडाउन गर्ने तयारी गरेको छ । देशका केही सहरमा पाँचसय भन्दा बढी सक्रिय संक्रमितको संख्या नाघिसकेकाले त्यस्ता सहरमा तत्काल लकडाउन गर्न सीसीएमसीले सिफारिस गरेको छ । सोही सम्बन्धमा शनिबार बेलुकी कोभिड–१९ संकट व्यवस्थापन समिति र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल पनि भएको थियो । छलफलबाट अहिले देशव्यापी लकडाउनमा जान नसकिए पनि प्रभाव बढी भएका क्षेत्रमा लकडाउन गर्ने विषयमा छलफल भएको छ । यस्तै, सरकारका परराष्ट्रमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लकडाउन गर्ने सम्भावना नभएको बताए ।यद्यपि उनका अनुसार संक्रमितको संख्या अत्यधिक देखिएका क्षेत्रमा भने सरकारले लकडाउनको तयारी गरिरहेको छ । भारतमा देखिएको भयावह स्थिति नेपालमा पनि नदेखियोस् भन्ने उद्देश्यका साथ सरकारले पनि हटस्पटहरुमा लकडाउन गर्ने तयारी गरेको हो ।जसमा देशका ८/१० वटा मुख्य सहरहरु छन् । बाँकेमा भने यसअघि नै लकडाउन भइसकेको छ । अहिले सबैभन्दा बढी प्रभावित बाँके नै हो । जहाँ दैनिक ८/९ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ भने सैयौंको संख्यामा संक्रमित थपिँदैछन् । नेकपा स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘एक वर्षको कहरले देश आर्थिक रुपमा पूरै थिलोथिलो भयो । अहिले सबै बन्द गर्दा फेरि माथि उठ्न सक्ने स्थिति हुँदैन । तर, बढ्दो संक्रमणलाई पनि वेवास्ता गर्न त मिल्दैन । त्यसैले हटस्पटहरुमा लकडाउन हुनसक्छ ।’ यस्तै, अब सरकारले अक्सिजन प्लान्टहरुको विस्तार र सिलिन्डर ल्याउने तयारी गरिरहेको ज्ञवालीले भने । आजको बैठकमा पनि प्रधानमन्त्री ओलीले कोभिड–१९को स्थिति निकै भयानक बन्दै गइरहेकाले यसलाई नियन्त्रणमा ल्याउन पार्टीपंक्ति पनि लाग्नुपर्ने निर्देशन दिएका छन् । उनले सीसीएमसीसँगको बैठकमा लिएका जानकारीबारे बैठकमा ब्रिफिङ गरेका थिए । त्यसपछि कोभिड नियन्त्रणका लागि सरकारका योजनाहरु पनि प्रस्तुत गरेको मन्त्री ज्ञवालीले बताए । केही दिनमै मुख्य सहरहरुमा लकडाउनको घोषणा हुने सीसीएमसीका एक सदस्यले जानकारी दिए । उनका अनुसार पाँचसय संक्रमितको संख्या नाघिसकेका सहरहरुमा लकडाउन हुनेछ । जसमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा लकडाउन हुनेछ । यस्तै, वीरगन्ज, कास्की, विराटनगर, रुपन्देही, बाँके, दाङ, सुर्खेत, र कञ्चनपुरमा लकडाउन गर्ने तयारी भइरहेको छ । ‘संक्रमणको अवस्था निकै भयावह बन्दै गएको छ । उच्च जोखिम देखिएका ठाउँमा तत्काल लकडाउन नगरे पछि नियन्त्रणबाहिर जान सक्छ भनेर हामीले सरकारलाई सिफारिस गरेका छौं,’ सीसीएमसीका एक सदस्यले भने, ‘सरकारले पनि भारतको जस्तो स्थिति नहोस् भनेर प्रभावित क्षेत्रका लागि कडाई गर्ने तयारी गरेको छ ।’ यस्तै, कर्णालीमा पनि स्थिति काबु बाहिर जानसक्ने अवस्था देखिएको छ । पीसीआर परीक्षण गर्नेमध्ये करिब ९८ प्रतिशतसम्म संक्रमित फेला पर्न थालेका छन् । सुदूरपश्चिममा पनि परीक्षण गरिएकामधये ९५ प्रतिशतमा कोरोना देखिएको छ । भारतमा स्थिति भयावह बन्दै गएपछि रोजगारीका लागि गएकाहरु नेपाल फर्किने क्रम बढेको छ । सीमा क्षेत्रका जिल्लाका नागरिकले सीमा शील गर्न माग गरे पनि पारीपट्टी स्थिति काबु बाहिर गएकाले घर फर्किनेलाई चेकजाँच गरेर आउन दिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष