NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मोरङमा मूल नाका मात्रै खुला, हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिँदै

काठमाडौं । कोरोना संकम्रमणको हिसाबले अति जोखिममा रहेको जिल्ला मोरङमा भारतसँग जोडिएको मूल नाकालाई मात्रै खुला गरेर अन्य नाकालाई बन्द गर्ने निर्णय भएको छ । जोगबनी–रानी नाकालाई मात्रै खुला गरेर अन्य नाका बन्द गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरद कुमार पोखरेलले बताए । पोखरेलका अनुसार जिल्लाभरका अन्य नाकालाई बन्द गरेर मूल नाकालाई मात्रै खुला गर्ने निर्णय भएको हो । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर स्थानीय निकायहरुसँग समन्वय गरिरहेका छौं । केही दिनमा निर्णयलाई लागू गर्ने तयारी छ ।’ मोरङका अधिकांश क्षेत्रको सिमाना भारतसँग जोडिएको छ । हाल भारतमा दैनिक संक्रमणको दर बढिरहेकाले रोजगारीसँगै अन्य प्रयोजनका लागि भारत गएकाहरु नेपाल फर्कने क्रम पनि बढिरहेको छ । प्रवक्ता पोखरेल भन्छन्, ‘आगमन अनियन्त्रित नहोस भनेर मूल नाका मात्रै खुला गरेर अन्य नाका बन्द गर्ने तयारी भइरहेको हो ।’ जिल्ला प्रशासन रानी नाकामा हेल्थ डेस्क सञ्चालनमा राखेको छ । तर, खुला सिमानाका कारण भारतबाट फर्किनेहरु अन्य नाकाबाट नेपाल भित्रिँदा हेल्थ डेस्कमा एक जनाको पनि परीक्षण हुन सकेको छैन । अनियन्त्रित रुपमा भइरहेको आगमनले संक्रमितको संख्या बढाउने र कोरोना प्रकोप थप हुने देखिएकाले जोगबनी–रानी नाकालाई खुला गरेर अन्य नाका बन्द गर्ने तयारी भएको पौडेलले बताए । पोखरेलका अनुसार यी नाकाबाट आउने मानिसमध्ये कोभिड संक्रमणको शंका भएकाहरुलाई परीक्षण गर्ने र होल्डिङ्ग सेन्टरमा राख्ने तयारी भइरहेको छ । उनी भन्छन्, ‘एक हजार क्षमताको होल्डिङ्ग सेन्टर बनाएर भारतबाट आउनेलाई परीक्षण गरेर मात्रै जान दिने तयारी गरिरहेका छौं । होल्डिङ्ग सेन्टरमा राखि परीक्षण गर्दा संक्रमण पुष्टि भएका स्थानीय निकायलाई उपयुक्त व्यवस्था गरी आइसोलेसनमा राख्न सुझाएका छौं ।’ जिल्लाका सबै स्थानीय निकायलाई यसबारे पत्रचार भइसकेको छ । केही दिनमा नै यो व्यवस्था लागू हुने उनले बताए । हाल मोरङमा ४ सय ६२ जना सक्रिय संक्रमित छन् । संक्रमण यहि दरले बढ्दै गएमा जिल्लामा भएका स्वास्थ्य पूर्वाधारहरुले नधान्ने पोखरेलले बताए । उनले भने, ‘अहिलेकै दरमा संक्रमण बढिरहेमा स्वास्थ्य सेवा दिन नसकिने डर छ ।’ भारतबाट हुने आगमनलाई नियन्त्रण गर्न नसकिएमा संक्रमण थप भयावह हुने जोखिम रहेको पोखरेल बताउँछन् । उनी भन्छन्, ‘जिल्लाका धेरै ठाउँ भारतसँग जोडिएका छन् । खेत नै सिमाना छ । यस्तोमा आगमनलाई नियन्त्रण गर्न सकिएन् भने जोखिम थप भयावह हुन्छ ।’ संक्रमण थप नफैलियोस र नियन्त्रणमा होस भनेर जिल्ला प्रशासन कार्यालयले जोगबनी–रानी नाका मात्रै सञ्चालनमा ल्याउने र हेल्थ डेस्कसहित होल्डिङ्ग सेन्टरको व्यवस्था गर्ने तयारी गरेको उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष