NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अक्सिजन उपलब्ध गराउन भारतलाई परराष्ट्रको पत्राचार

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेकाले भयावह अवस्था आउनसक्ने भन्दै सरकारले अत्यावश्यक सामग्री उपलब्ध गराउन भारत सरकालाई पत्राचार गरेको छ । कोरोना संक्रमण बढ्दै गएमा नेपालमा अक्सिजनको अभाव हुनसक्ने भएकाले स्वास्थ्य मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन पत्राचार गरेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सिफारिस भएर आएका सामग्रीहरु उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पत्राचार गरेको छ । उनका अनुसार स्वास्थ्य मन्त्रालयले खोपसहित अन्य आवश्यक सामग्रीहरु सिफारिस गरेको र परराष्ट्रले भारतमा पत्राचार गरेको हो । संक्रमण निरन्तर बढिरहेका कारण जनस्वास्थ्य विज्ञहरुले नेपालमा निकट भविष्यमै स्वास्थ्य सामग्रीसहित अक्सिजनको अभाव हुनसक्ने औंल्याएका छन् । सँगै विभिन्न ठाउँका अस्पतालहरुमा अहिले नै अक्सिजनको अभाव देखिन थालिसकेको छ । यसैबीच स्वास्थ्य मन्त्रालयले लिक्विड अक्सिजन उपलब्ध गराउन सिफारिस गरेकोमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पत्राचार गरेको हो । भारतले पछिल्लो समय आफ्नै देशमा अक्सिजनको अभाव भएका कारण अक्सिजनको निर्यातमा रोक लगाएको छ । यता नेपालबाट पत्रचार भएसँगै भारतको दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थइ मन्त्रालयका अधिकारीहरुसँग छलफल पनि सुरु गरेको छ । नेपालले नियमित लिक्विड अक्सिजन ल्याउने भारतको झारखण्डस्थित कम्पनीले भने भारतको विदेश मन्त्रालयले अनुमति दिएमा नेपालको आफ्नै ट्यांकरमा अक्सिजन उपलब्ध गराउन सक्ने बताएका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयको सिफारिसमा परराष्ट्रमार्फत भारत सरकारलाई पत्राचार गरिएको लिष्टमा अक्सिजनसहित रेम्डेसिभिर, नेपालले भुक्तानी गरिसकेको खोपलगायतका अन्य स्वास्थ्य सामग्रीसमेत रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष