NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

‘भारतबाट आउनेहरू ढाँटेर गाउँ छिर्दा नेपालगन्जकै हालत हुने हो कि भन्ने त्रास छ’

कोरोनाको दोस्रो लहर चलिरहदा सुर्खेतमा संक्रमणको दर ह्वातै बढेको छ । हाल सुर्खेतमा ३२९ जना संक्रिय संक्रमित रहेका छन्, भने हालसम्म २३ जनाको मृत्यु भएको छ । यो तथ्यांकले सुर्खेत फेरि पनि कोरोनाको हटस्पट बन्ने देखिन्छ । भारतमा संक्रमण फैलिएका विभिन्न ठाउँबाट कर्णाली फर्कनेहरुबाट झन् संक्रमण फैलने जोखिम छ । नेपालगंजमा संक्रमणको अवस्था नियन्त्रण बाहिर भएकै कारण सुर्खेत पनि संक्रमणको उच्च स्तरमा पुग्ने प्रशासनले आंकलन गरेको छ । यसै सम्बन्धमा कोरोनाको पछिल्लो अवस्था र तयारीका बारेमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग नेपालवाचकर्मीले गरेको कुराकानीः बाँकेपछि सुर्खेत पनि कोरोना संक्रमणको हटस्पट बन्ने देखिन्छ । प्रशासले यसलाई कसरी लिएको छ ? शनिबारसम्म संक्रमितको संख्या अवस्था हेर्ने हो भने कोरोना पोजेटिभ भएकाहरुको संख्या ११९ छ जसमध्ये १९ जना आइसोलेसन, चार जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयबाट हप्तामा शनिबारबाहेक ६ दिन परीक्षणको व्यवस्था मिलाइएको छ । आजदेखि प्रदेश अस्पतालमा कोरोना संक्रमित भएमा के गर्ने वा यससँग सम्बन्धित लक्षण देखा पर्यो भने के गर्ने ? उपचार तथा परामर्शका लागि के गर्ने ? भन्ने विषयमा जानकारी दिन कल सेन्टर स्थापना भएको छ । सुर्खेतमा रहेका हरेक स्वास्थ्य संस्थाहरुलाई हाइ अलर्ट अवस्थामा राखिएको छ । हालसम्म सुर्खेतमा ३२३ जना संक्रिय संक्रमितहरु हुनुहुन्छ । उहाँहरु कोही होम क्वारेन्टाइनमा हुनुहुन्छ भने केहीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । संक्रमणको अवस्था यस्तै दरले बृद्धि हुने हो भने सुर्खेत कोरोनाको हटस्पट बन्ने त छँदैछ । किनभने हाम्रो छिमेकी जिल्ला बाँकेमा तीव्र रुपमा संक्रमण फैलिरहेकाले यसबाट सुर्खेतमा पनि निकै ठूलो प्रभाव पर्ने देखिन्छ । कर्णालीका १० वटै जिल्लाहरुका मानिसहरु बाँकेको जमुनाह नाका र कैलाली र कञ्चनपुरका नाकाहरुबाट नै आउने हुन् । अहिले ती नाकाहरु संक्रमणको उच्च जोखिममा छन् । भारतमा व्याप्त रुपमा संक्रमण फैलिएको छ र त्यहाँबाट मानिसहरु आउनेक्रम जारी छ । नाकाहरुमा भरपर्दो चेकजाँच र क्वारेन्टाइनको व्यवस्था पनि छैन, अर्को कुरा भारतबाट आउने मानिसहरुले आफ्नो परिचय लुकाउने तथा ढाँटेर घरसम्म जाँदा पनि कोरोना कहर गाउँसमम पुग्ने जोखिम छ । केहीदिन अघिमात्र भारतबाट आएका दैलेखका एक युवाको मृत्यु भयो । उनी संक्रमित भएको कुरा लुकाउँदा अहिले उनको परिवारका सबै सदस्य संक्रमित भएको अवस्था छ । यस्ता छलेर आउने मानिसहरुको निगरानीका लागि नगरपालिका र स्थानीय पालिकास्तरमा समिति बनाउने, को मान्छे कहाँबाट आएको हो ? क्वारेन्टाइनमा बसेको छ कि छैन ? आइसोलेसनमा बस्नुपर्ने भए आइसोलेसनमा बसेको छ कि छैन ? भनेर निगरानी गर्न आमा समूह, युवा क्लब, गैर सहकारी संघ–संस्था, स्वयंमसेविका लगायत जे जति संघसंस्थाहरु छन्, तिनीहरुको सहयोगमा निगरानी बढाउने, स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्ने भनेर हामीले भनेका छौं । जसले संक्रमणको जोखिम घटाउन मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो । संक्रमण दर बढ्दै जाँदा बाँकेमा लकडाउनजस्तैको स्थिति छ । अब सुर्खेतमा प्रशासनले यसबारेमा के सोचिरहेको छ ? हिजोमात्र हामीले सुर्खेतको पछिल्लो अवस्थाका बारेमा समिक्षा गर्यौं । जसबाट तत्कालै लकडाउन नगर्ने कि भन्ने निचोड निस्केको छ । संक्रमणको जोखिम त छँदैछ । हाललाई लकडाउन गर्दा अन्य काममा पनि असर पर्ने देखिन्छ । जस्तै सुर्खेतमा मात्र लकडाउन गर्ने हो भने अन्य जिल्लामा जाने मानिसहरु प्रभावित हुनेछन् । यातायात, विकास निर्माण जस्ता कामहरुमा बाधा पर्न जान्छ । अर्को कुरा अहिले भर्खर पर्यटन व्यवसाय लगायत अन्य व्यवसायहरु आर्थिक रुपमा माथि उठ्ने क्रममा छन् । त्यसैले पुनः लकडाउन गर्दा फेरि पनि ति व्यवसाय धरासायी बन्ने देखिन्छ । त्यसैले पनि तत्काललाई लकडाउन नगर्ने कि भन्ने पनि छ । बरु उद्योग बाणिज्य संघले पनि आफ्ना वस्तुगत समिति के–के छन् उनीहरुलाई मापदण्ड पालना गर्ने तथा अनशासनमा बस्ने कुरामा सम्झाई बुझाई गरी चेतना जगाउने काम गर्नुपर्यो, बैंकहरुमा पनि पूरै समय काम गर्नुपर्ने भए नेपाल राष्ट्र बैंकले पनि सबै बैंकसँग छलफल गरेर कसरी संक्रमणबाट बच्न सकिन्छ र स्वास्थ्यका मापदण्ड कसरी पालना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्यो भन्ने विषयमा हिजो छलफल भएको छ । सोही अुनसार जिल्ला प्रशासन कार्यालय लागि परेको छ । बढी भिडभाड हुने क्षेत्रहरुमा हामीले यसअघि नै प्रतिबन्ध लगाइसकेका छौं । सरकारले तोकेका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न नागरिकमा अनुरोध गरेका छौं । अनुगमनको कार्य पनि कडाइका साथ भइरहेको छ । यदि प्रशासनको आग्रह कोही कसैले मान्दैन भने त्यस्ता व्यक्ति तथा संघ–संस्थालाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्छौं । संक्रमणको दर यसरी बढ्दै छ, यदी अवस्था यस्तै हुने हो भने सरकारी अस्पतालले धान्न सक्ने अवस्था देखिँदैन । निजी अस्पतालहरुसँग समन्वयको अवस्था कस्तो छ ? हिजोसम्मको अवस्था हेर्ने हो भने बेड नपाउने अवस्था त छैन । आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था पनि गरेका छौं । कर्णाली प्रदेश अस्पतालमा हाल २०० भन्दा बढि बेडहरु छन्, पहिलेकोे जस्तो कोरोना पुष्टि हुने बित्तिकै अस्पताल भर्ना गरिहाल्ने स्थिति छैन । आवश्यकता अनुसार निजी अस्पतालसँग पनि सहकार्य गर्ने गृहकार्यमा छौं । जटिल खालका बिरामीहरुलाई अस्पताल भर्ना गरिने भएकाले नै अहिले नै बेड नपुग्ने अवस्था आउला जस्तो त छैन । तर, संक्रमणको दर बढ्यो भने अवस्था जटिल नहोला भन्न सकिँदैन । नेपालगन्जमा जस्तो संक्रमणको अवस्था नियन्त्रण भन्दा बाहिर गयो भने हाम्रा स्वास्थ्यका पूर्वाधारले धान्न सक्दैनन् । पूरै कर्णालीले फेल खान्छ । तर, दुईचार दिनको अवस्था हेर्ने हो भने गाह्रो अवस्था सिर्जना भएको भने छैन । अन्य कुराहरुमा हामीले अक्सिजनको कमी नहोस् भन्नका खातिर अक्सिजनको पर्याप्त व्यवस्थापन गरेका छौं । अबको केही दिनमा प्रदेश अस्पतालको आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्नका लागि व्यवस्थापनको कार्य भइरहेको छ । सम्भवतः छिटै उत्पादनको कार्य पनि प्रारम्भ हुनेछ । कर्णाली भित्रिने नाकाहरुमा चेकजाँचको अवस्था के छ ? कर्णाली भित्रिने दुईवटा नाकामा चेकजाँचको निमित्त हेल्थ डेस्कको व्यवस्था त गरेका छौं, तर त्यो त्यति प्रभावकारी भने नहुने रहेछ । यी नाकाबाट प्रवेश गर्ने नागरिकहरुले नाम थर तथा आफ्नो विवरण खुलाउन नै चाहनुहुन्न । अब मुलकभित्रै नागरिकता, पासपोर्ट हेरेर कहाँबाट आयो, कहाँबाट गयो ? त्यसको रेकर्ड राख्ने कुरा पनि भएन । इन्डियाबाट आएको हो भनेर भन्यो भने कडाई गर्छ भनेर दाङ, कैलाली, काठमाडौंबाट आएको हो भनेर भन्छन् । जसले गर्दा पनि वास्तविक संक्रमित पहिचान गर्न समस्या भइरहेको छ । प्रयास त गरेका छौं तर प्रभावकारी भने हुन सकेको छैन । अहिले हामीले मुख्यगरी कर्णाली भित्रिने नाकाहरु कुइने, बबई र सुर्खेत एयरपोर्टमा हेल्थ डेस्क राखेका छौं । जहाँबाट दैनिक रुपमा चेकजाँचको काम भइरहेको छ । हामी जस्तो सुकै कदम लिन परे पनि लिन्छौं, जिल्लाबासीलाई संक्रमणको जोखिमबाट बचाउनमा जिल्ला प्रशासन कार्यालय लागि परेको छ । हाम्रो यो अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आम नागरिक, संघसंस्था लगायत सम्पूर्णमा जिल्ला प्रशासन कार्यालय हार्दिक अुनरोध गर्दछ ।

ताजा अपडेट

नेपालवाच विशेष