NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उपत्यकाबाट बाहिरिनेसँगै गाउँ–गाउँमा कोरोना पुग्ने त्रास

काठमाडौं । बुधबार बिहान बालाजु बसपार्कमा बसेका अधिकांशले घर पुगेपछि स्थानीय तहले क्वारेन्टिनको व्यवस्था गरेकोबारे अनविज्ञता प्रकट गरे । स्थानीय सरकारले क्वारेन्टिनको व्यवस्था नमिलाएको खण्डमा ‘सेल्फ क्वारेन्टिन’ बस्नेबारे पनि उनीहरूको चासो थिएन । बसपार्कमै भेटिएमध्येका बर्दियाका अमर शाहीले ‘सेल्फ क्वारेन्टिनमा’ बस्ने÷नबस्नेबारे प्रश्न गर्दा भने, ‘मलाई केही लक्षण भए पो क्वारेन्टिन बस्नु !’ शाही जस्तै धेरै यात्रु आफ्नो गाउँ पुगेपछि स्थानीय तहको व्यवस्थामा क्वारेन्टिन बस्नेबारे अनविज्ञ छन् । कतिपयको घर पुगेपछि छुट्टै बस्नसक्ने वातावरण पनि छैन । तनहुँ गइरहेकी गीता बुढाथोकी पनि घर पुगेर क्वारेन्टाइन बस्ने वा नबस्ने भन्नेमा अनविज्ञ छिन् । भन्छिन्, ‘अब अहिलेसम्म लक्षण देखिएको छैन । बस्नैपर्ने भए त बस्नुपर्यो । नत्र घरैमा बस्ने हो ।’ हाल दैनिक हजारौंको संख्यामा मानिसहरु उपत्यका छाडिरहेका छन् । उनीहरुसँगै गाउँ–गाउँमा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढिरहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । नेपाल ट्राफिक प्रहरीका प्रवक्ता स्याम कृष्ण अधिकारीका अनुसार स्थल मार्गबाट उपत्यका छाड्नेको संख्या मंगलबार साँझसम्म १ लाखभन्दा धेरै पुगेको छ । अधिकारीका अनुसार बुधबार बेलुकीसम्म यो संख्या दोब्बर हुने अनुमान छ । उनी भन्छन्, ‘हिजो र अस्ती जति बाहिरिए आज एक दिनमै त्यो संख्यामा मान्छे बाहिरिएका छन् ।’ स्थलमार्ग बाहेक हवाई मार्गबाट पनि हजारौंको संख्यामा मानिस उपत्यकाबाट बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कार्यालयका अनुसार सोमबार ६ हजार २ सय ९४ जना काठमाडौंबाट बाहिरिएका छन् भने मंगलबार ७ हजार २ सय २० जना बाहिरिएका छन् । कार्यालयका एक कर्मचारीका अनुसार यो संख्या सामान्य अवस्थामा उपत्यका छाड्नेकोभन्दा धेरै नै बढि हो । सँगै आन्तरिक उडानमै पनि मंगलबार १२ वटा अतिरिक्त उडान भएका थिए । स्थल तथा हवाई मार्गबाट उपत्यका छाड्नेको संख्या दिनानुदिन बाहिरिएसँगै संक्रमण नफैलिएका जिल्लाहरुमा पनि संक्रमण फैलिने जोखिम बढेको छ । ट्राफिक प्रहरीका प्रवक्ता अधिकारी अनुसार १ सय ६० भन्दा बढि सवारीलाई सुरक्षाका मापदण्ड पालना नगरिएकोमा कारबाही पनि गरिएको छ । काठमाडौंबाट बाहिरिएकाहरुसँगै संक्रमण गाउँ–गाउँमा पुग्ने जोखिम पनि बढेको छ । तर, त्यसलाई न्यूनीकरण वा जोखिम कम धेरैजसो स्थानीय तहहरुमा कुनै पनि तयारी भएको छैन । उपत्यकाबाट बाहिरिएका मानिसहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेअनुसारको मापदण्डमा क्वारेन्टाइनमा राख्ने व्यवस्था धेरैजसो स्थानीय निकायहरुले गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार विभिन्न स्थानीय तहहरुले भोलिबाट संक्रमणलाई फैलिन नदिने निर्णय गर्ने जानकारी दिएका छन् । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उपत्यका छाड्नेहरु अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ । तर, होम क्वारेन्टाइनमा बस्ने अवस्था नभएमा स्थानीय निकायले बनाएको क्वारेन्टाइनमा बस्नुपर्छ । मन्त्रालयले स्थानीय निकायले बनाएको क्वारेन्टाइनमा बस्नुपर्ने बताए पनि अधिकांश स्थानीय निकायले भने हालसम्म पनि यसबारे कुनै तयारी नगरेको संघीय मामिला मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । स्थानीय तहमा जोखिम बढ्यो स्वास्थ्य मन्त्रालयको स्थायी प्रतिवेदनका अनुसार मंगलबारसम्म काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा क्रमशः ९ हजार ३८४, आठ सय ४३ र १ हजार ७१३ जना सक्रिय संक्रमित छन् । उपत्यकामा फैलिरहेको कोरोना महामारीका कारण उपयुक्त परीक्षण भएमा थप संक्रमित पहिचान हुने जनस्वास्थ्य विज्ञहरुको बुझाइ छ ।जनस्वास्थ्य विज्ञहरुका अनुसार उपत्यकामा संक्रमण उच्च दरमा फैलिरहँदा यहाँबाट गाउँ फर्किनेहरुले आफूसँगै संक्रमण पनि गाउँमा लिएर जाने खतरा बढेको छ । जनस्वास्थ्यविज्ञ डा. अनुप बास्तोला संक्रमण ग्रस्त क्षेत्रका मानिस संक्रमित हुनसक्ने भएकाले गाउँ–गाउँमा जोखिम बढेको बताउँछन् । भन्छन्, ‘यतिबेला सुरक्षित भएर घर फर्किन आवश्यक छ । स्थानीय तहले पनि संक्रमणको जोखिमलाई ध्यान दिदैं भूमिका खेल्नुपर्छ ।’ बास्तोला संक्रमणको जोखिम भएका क्षेत्रबाट आएकाहरुलाई स्थानीय तहले अनुगमन गर्ने र संक्रमण फैलिन नदिन कदम चाल्नुपर्ने बताउँछन् ।तर, महामारी फैलिरहेको क्षेत्रबाट गाउँ फर्किरहेका मानिसहरुलाई स्थानीय तहमा के कसरी राख्ने भनेर बुधबारसम्म तयारी समेत भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी बुधबारसम्म स्थानीय तहमा जानकारी आउन लायक तयारी नभएको बताउँछन् । उनले भने, ‘अहिलेसम्म त्यस्तो काम केही भएको छैन । भोलिबाट समन्वय गर्ने तयारी भइरहेको छ ।’ यता केही जिल्लाले भने स्थानीय तहलाई पत्राचार गरेर पहिला क्वारेन्टाइन बनाइएका क्षेत्रलाई फेरि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । तर, त्यसले पनि पर्याप्त रुपमा संक्रमणलाई थेग्न सक्ने स्थिति भने छैन । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख रामकुमार महतो जिल्लामा संक्रमण थप फैलिने डर भएको बताउँछन् । महामारीको उच्च दरमा रहेको उपत्यकाबाट बाहिरिएका मानिसहरु जिल्लामा आउँदा परीक्षण पनि नहुने र उनीहरुको तथ्यांक पनि नराखिएका कारण जिल्लामै संक्रमण फैलिने थप जोखिम बढेको उनको बुझाइ छ । उपत्यकासँगै अन्य जिल्लाबाट कञ्चनपुरमा आइरहेका मानिसहरुलाई होम क्वारेन्टाइनमा बस्नु भनिए पनि त्यसलाई कति लागू भएको छ भन्न नसकिने बताउँछन् । ‘हामीले होम क्वारेन्टाइनमा राख्नु भनेर स्थानीय निकायलाई पत्राचार गरेका छौं,’ उनी भन्छन्, ‘तर, त्यो कति पालना भएको छ भन्न सकिदैंन ।’महतो भारतबाट आउने मानिसको ‘ट्राभल हिस्ट्री’ राखेजस्तै उपत्यकाबाट जिल्लामा प्रवेश गर्ने वा अन्य जिल्लाबाट कञ्चनपुर आउनेको ट्राभल हिस्ट्री नराखिएको बताउँछन् । भन्छन्, ‘त्यो सम्भव पनि हुँदैन । गाडी चलिरहेका छन्, सार्वजनिक यातायातमा को आयो को गयो पत्तो हुँदैन । यसले जोखिम थप बढाएको छ ।’जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरदकुमार पोखरेल पनि उपत्यकालाई संक्रमणको दर उच्च भएकाले भारत जत्तिकै जोखिमयुक्त ठाउँ भएको बताउँछन् । संक्रमणको दर उच्च भएको क्षेत्रबाट जिल्लामा निरन्तर आगमन भइरहेकाले गाउँमा पनि संक्रमण बढ्ने जोखिम भएको बताउँछन् पोखरेल । भन्छन्, ‘काठमाडौंबाट यता आउने मान्छेलाई होम क्वारेन्टाइनमा राख्नु भनेर पत्राचार गरेका छौं । तर, सबैलाई मोनिटरिङ गर्न सम्भव पनि छैन ।’ मोरङका स्थानीय निकायमा संक्रमण अहिले पनि उच्च छ । उपत्यकाबाट बाहिरिने मान्छेको संख्या बढेसँगै जिल्लामा संक्रमण थप बढ्ने अनुमान भएको बताउँछन् पोखरेल । भन्छन्, ‘संक्रमण गाउँ–गाउँमा फैलिने डर भयो । भोलि जिल्लाको बैठकले यहाँ पनि लकडाउन गर्ने कि भन्ने छलफल गर्दै छौं ।’ जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दाघाट, सुस्ता पश्चिम)का सूचना अधिकारी जोरासिंह माझी जिल्ला उपत्यका वा अन्य कुनै ठाउँबाट आउने मानिसलाई पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था हालसम्म नभएको बताउँछन् । गाउँ फर्किने नागरिक आफैं सतर्क हुनुपर्ने बताउँदै उनी उपत्यका वा अन्य ठाउँबाट फर्किनेले सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने बताउँछन् । भन्छन्, ‘कसैमा लक्षण देखिए स्थानीय पालिकाहरुले एन्टिजेन परीक्षण गर्छ । एन्टिजेन पोजेटिभ आएमा मात्रै पीसीआर परीक्षणलाई सिफारिस गरिन्छ ।’ पछिल्ला दिनहरुमा जिल्लामा मानिसको आगमन बढेसँगै संक्रमण फैलिने डर भएको बताउँछन् माझी । संक्रमण फैलिने डर भएकाले जिल्लामा आएका मानिसहरुको अनुगमनका लागि डिसीसीएमसीले टोली खटाएको उनले बताए । उनी भन्छन्, ‘तर, संक्रमण फैलिने पक्का जस्तै छ । मान्छे आएका आएकै छन् । संक्रमणको जोखिम पनि बढेको बढेकै छ ।’ पुरानै संरचनालाई पुनः प्रयोगमा ल्याउने तयारी केन्द्र सरकारसँगै विभिन्न स्थानीय तहले अहिले निषेधाज्ञा गरिसकेका छन् भने कतिपयले निषेधाज्ञा गर्ने तयारी गरिरहेका छन् । उपत्यकामा निषेधाज्ञा हुने भएका कारण पछिल्ला केही दिनयता बाहिरिएका मानिसहरुलाई स्थानीय तहले मोनिटरिङ गर्नुपर्ने बताउँछन् संघीय मामिला तथा सामान्य प्रशासन मामिला मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी । उनका अनुसार स्थानीय सरकारहरुले पहिले प्रयोगमा भएका संरचनाहरुलाई पुनः प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । तर, हालसम्म कति स्थानीय तहमा कति क्वारेन्टाइन वा आइसोलेसन प्रयोगमा आयो भन्ने बारेमा जानकारी आइनसकेको उनले बताए । उनी भन्छन्, ‘स्थानीय तहमा कामको अत्यन्तै चाप छ । अहिलेसम्म उपत्यका वा अन्य ठाउँबाट आउनेलाई कसरी राख्ने र के कस्तो तयारी भयो भन्ने बारेमा केही जानकारी आएको छैन ।’