NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विशिष्टिकृत लगानी कोष सञ्चालन गर्न ५ संगठित संस्थालाई धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा संस्थाहरुलाई विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि अनुमति दिएको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न कोष व्यवस्थापकको रुपमा विभिन्न ९ संगठित संस्थाले बोर्डमा निवेदन दिएका थिए । बोर्डले उक्त नियमावली भए बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ५ कम्पनीहरुलाई मात्र अनुमति दिएको जानकारी गराएको छ । बोर्डले ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड., एनआईसी एसिया क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडलाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गरेको हो । स्वीकृतप्राप्त यी संस्थाहरुलाई आवश्यक पूर्वाधार तयार गर्न समेत बोर्डले निर्देशन दिएको छ । धितोपत्र दोस्रो बजारमा नयाँ वित्तीय औजार थप गर्नका लागि बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू गरेको हो । बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र सञ्चालनका लागि यो नियमावली लागू गरेको जानकारी दिएको छ । नेपालको धितोपत्र बजारमा बजारमा हाल शेयर, डिवेञ्चर, सामूहिक लगानी कोषजस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पुँजी परिचालनको नयाँ वैकल्पिक उपकरणको विकास भई स्टाटअप व्यवसायमा पुँजी परिचालन हुने विश्वास बोर्डको छ । यो सँगै निजी क्षेत्रको स्रोत परिचालन हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा वृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास पनि बोर्डले लिएको छ । यस किसिमको कोषको स्थापना र सञ्चालनले पुँजी बजारको दायरा फराकिलो भई नवीनतम उद्यम, व्यवसाय सञ्चालनका लागि स्वदेशी तथा विदेशी पुँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने आशा बोर्डले लिएको छ ।