NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बाँके र बझाङमा गरी थप ७ सङ्क्रमितको मृत्यु

राँझा/चैनपुर । बाँके र बझाङमा उपचाररत ७ संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी बाँकेमा पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो । यसैगरी, शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गएराति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको हो । योसँगै कोरोनाकै कारण हालसम्म बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । उता, जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।७ दिनदेखि बिरामी रहेकी उनी आइतबार मात्र अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमै परीक्षणपछि कोरोना पुष्टि भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए । यस्तै, सङ्क्रमण पुष्टिपछि घर जाने क्रममा अर्की संक्रमितको पनि मृत्यु भएको छ । उनको आइतबार मध्यरात १२ बजेतिर ज्यान गएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा वैशाख १८ मा परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् । साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति उनको मृत्यु भएको आफन्तले जानकारी दिए । कोरोना ‘पोजिटिभ’ देखिएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेसनमै बस्नू भने पनि उनी गाडी बुक गरेर घरतर्फ आएको तल्कोट–१ का वडाध्यक्ष गोपाल धामीले बताए । आफूले प्रहरीलाई मसेत खबर गरेर घर आउन नदिनू भनेपनि उनले प्रहरीलाई छलेर घरतर्फ आएको धामी बताउाछन् । जिल्लामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २०४ छ । सङ्क्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले अनुरोधसमेत गरेका छन् । (रासस)