NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

इजरायल : कसरी विश्वमै कोरोनाविरुद्धको खोपको अग्रणी बन्यो ?

काठमाडाैं । न्युयोर्क टाइम्समा मे १ मा प्रकाशित रिपोर्टका अनुसार विश्वका सबै देशहरुमध्ये सबैभन्दा धेरै मानिसलाई कोभिड–१९ संक्रमणविरुद्धको भ्याक्सिन लगाउने देशमा इजरायल दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा पूर्वी अफ्रिकी देश सेशेल्स रहेको छ । हालसम्म यी दुवै देशमा क्रमशः ६९ प्रतिशत र ६० प्रतिशत जनतालाई भ्याक्सिन लगाइएको छ । पहिलो नम्बरमा सेशेल्स रहे पनि कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउने सन्दर्भमा इजरायलले विश्वभरमै सबैभन्दा गतिशीलता हासिल गरेको थियो । अहिले विश्वका धेरै देश कोरोना संक्रमणको दोस्रो लहरसँग जुँधिरहँदा इजरायल भने निर्धक्क छ । १८ अप्रिलबाट त झन इजरायलमा मास्कबिनै मानिसहरुलाई हिँडन अनुमति दिइएको छ । गत सेप्टेम्बरदेखि नै इजरायलमा स्कूलहरु पूर्णरुपमा खुलेका थिए भने १८ अप्रिलदेखि घर बाहिर निस्किदा अनिवार्य मास्क लगाउनुपर्ने नियमलाई पनि सरकारले हटाएको छ । न्युयोर्क टाइम्सको डाटाबेसका अनुसार १८ अप्रिलसम्म इजरायलमा कुल जनसंख्याको ५६ प्रतिशत मानिसलाई कोरोनाको खोप लगाइसकिएको थियो । अनिवार्य मास्क लगाउनुपर्ने नियम सरकारले हटाएपछि न्यानो घाममा हिँड्ने इजरायलका जनताहरुले मास्ककै आकारको ‘ट्यान लाइन’ (घामले बनाउने दाग) बन्छ भन्दै मजाक गर्दै हिँड्न थालेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार इजरायलमा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतनयाहुले राष्ट्रिय टेलिभिजनबाट खोपसम्बन्धी सन्देश प्रसारण गरेको १२ हप्तामै इजरायलका ५५ प्रतिशतलाई कोभिड–१९ विरुद्ध खोप लगाइएको बताएका थिए । विश्वभरमै यो मात्रामा खोप लगाइनु उच्च दर हो भने इजरायलको इन्युनिटी पनि विश्वकै उच्च दरमा विकास भएको छ । इजरायलमा गत १२ नोभेम्बरदेखि मात्रै आफ्नो पद सम्हालेका कोभिड–१९ विरुद्धको खोपका संयोजक डा. नाकमेन ऐशका अनुसार संक्रमणविरुद्धको खोपलाई यो गतिमा पुर्याउनमा इजरायलका राजनीतिज्ञहरुको हात छ । वाल स्ट्रिट जर्नलका प्रतिनिधि टुन्कु भर्दाराजनसँगको कुराकानीमा उनले भनेका छन्, ‘यो उपलब्धीमा मलाई गर्व छ । तर, यसको श्रेय देशका राजनीतिक नेताहरुलाई जान्छ । उनीहरुले नै दीर्घकाललाई ध्यानमा राखेर कोभिड भ्याक्सिनको स्टक राखेका थिए ।’ इजरायलका प्रतिनिधिहरुले खोप उत्पादक कम्पनी फाइजरसँग प्रत्यक्ष संवाद गरिरकेका थिए, जसमा कम्पनीको लागि उनीहरुले पनि आवश्यक जनशक्ति र सामग्री उपलब्ध गराएका थिए । जसकारण इजरायलले अरु देशलेभन्दा पहिले नै खोप पाएको थियो, उच्च गुणस्तर र मात्रामा । जसको बदलामा फाइजरले आफ्नो खोप लगाउँदा हुने परिणामको बारेमा जानकारी पाएको थियो विश्वकै उच्च स्वास्थ्य प्रणाली भएको देशबाट । डा. ऐश यसलाई दुवैतिर लाभ हुने सम्झौताको संज्ञा दिन्छन् । सुरुवातमा सानो समूहमा मात्रै क्लिनिकल ट्रयाल गरिएको खोपले ९५ प्रतिशतसम्म कोभिड– १९ बाट बचाउने देखाएको थियो । डा. ऐश भन्छन्, ‘फाइजरले गरेको अनुसन्धानजस्तै वास्तवमा पनि यो खोपले उत्तिकै प्रभावकारी काम गरिरहेको थियो ।’ अघिल्लो वर्ष तीन पटकसम्म लकडाउन गरिएको देशमा दु्रत रुपमा भ्याक्सिन लगाउन थालियो । डा. ऐश त्यो बेला लकडाउन गर्नु आवश्यक भएको बताउँछन् । इजरायलमा अन्तिम पटक गरिएको लकडाउन सबैभन्दा कडाईका साथ गरिएको थियो । नागरिकहरुलाई आफ्नो घरको १००० गजभन्दा पर जान अनुमति थिएन । स्कुलहरु बन्द थिए । डा. ऐश भन्छन्, ‘त्यो लकडाउनले नै जति क्षति हुनसक्थ्यो त्यो हुनबाट बचाएको छ ।’ इजरायलमा भ्याक्सिन लगाउँदा पनि सुरुवातमा उच्च जोखिममा भएकाहरुलाई लगाइएको थियो । त्यसपछि ६० वर्षभन्दा माथिको उमेर समूहलाई पनि खोप लगाउन थालियो । यो समूहमा भ्याक्सिन लगाएपछि सरकारले १६ देखि १८ उमेर समूहतर्फ ध्यान दियो । डा. ऐस भन्छन्, ‘लकडाउन सकिएपछि स्कुल फर्किने बालबालिकालाई भ्याक्सिन लगाउन आवश्यक भएकाले हामीले उनीहरुलाई खोप लगाउन थाल्यौं ।’ अमेरिकी खाद्य तथा औषधि प्रशासनले १६ वर्ष मुनिकालाई फाइजर–बायोटेक खोप लगाउने अनुमति नदिएका कारण १६ वर्षभन्दा मुनिका नागरिकलाई भने इजरायलमा भ्याक्सिन लगाइएन् । तर, सबै जनतालाई भ्याक्सिन लगाइरहँदा कोभिड भइरहेको वा कोभिडबाट निको भएका मानिसलाई भने खोप लगाइएको थिएन । डा. ऐशका अनुसार उनीहरुमा विकास भएको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई थप बढाउन केही समयपछि भने एक डोज खोप लगाइने छ । डा. ऐश भन्छन्, ‘इजरायलको खोप लगाउने दर ८६ छ । यसपटक १६ वर्ष मुनिकालाई खोप नलगाउने हुँदा यो दर ८० प्रतिशत हुन्छ ।’ खोप लगाइरहँदा इजरायलमा कोभिड १९ को संक्रमण थप नफैलियोस भनेर पनि रणनीति अपनाइएको थियो । सरकारले ‘ग्रिन पास’ नामक एप बनाएको थियो, जसमा भ्याक्सिन लगाएका वा कोभिडबाट निको भएकाहरुको डाटावेश बनाइएको थियो । एपले नै कसले भ्याक्सिन लगाएको छ, कसले छैन भन्ने देखाउँथ्यो । यसले इजरायलीहरुलाई जिम, होटल, कन्सर्ट लगायतका क्षेत्रहरुमा छिर्न पासको काम गथ्र्यो । खोप नलगाएकाहरुले यी क्षेत्रमा प्रवेश पाउँदैन थिए । हाल विश्वमा अन्य थुप्रै प्रजातिका कोरोना संक्रमण फैलिरहेका छन्, जसलाई विगतमा लगाएका खोपहरुले असर नगर्ने हल्ला समेत चलेको छ । इजरायलमा हाल मास्क लगाउन पर्दैन् । विश्वमा फैलिरहेको फरक प्रजातीको कोरोना भाइरस यहाँ पनि आइपुग्ने डर छ । तर, त्यहाँको सरकारले उपयुक्त कदम चालिसकेको छ । डा. ऐशका अनुसार अप्रिलको पहिलो साता नै भारतमा देखिएको डबल म्युटेन्ट भाइरस बि.१. ६१७ इजरायलमा पनि देखिएको थियो । तर, त्यसलाई समेत निर्मूल पार्न भ्याक्सिनमाथि प्रयोग भइरहेको छ । डा. ऐस भन्छन्, ‘हामीले विश्वसँगै आफैंबाट पनि सिकिरहेका छौं । विश्वको अहिलेको अवस्थाको हामीलाई ज्ञात छ । इजरायलले यो भेरियन्ट थप प्रवेश नपाओस भनेर काम गरिरहेको छ ।’एजेन्सीको सहयोगमा