NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

शंकर पोखरेलकाे सरकारलाई विपक्षी चार दलले बहिष्कार गर्ने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी चार दलले बहिष्कार गर्ने घोषणा गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएको दावी गर्दै पोखरेलको सरकारलाई प्रदेशभर बहिष्कार गर्ने घोषणा गरेका हुन् । आइतबार विरोधकाबीच पनि मुख्यमन्त्री पोखरेलको सपथग्रहण भएपछि सोमबार चार दलले संयुक्त पत्रकार सम्मलेन गर्दै पोखरेलेको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन् । यस्तै आफूहरुसँग बहुमत रहेको र पोखरेल अल्पमतमा परिसकेको उनीहरुको दाबी छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीको कीर्ते हस्ताक्षर गरेर संसदीय दलको निर्णय गरेकाले त्यसको कुनै औचित्य नरहे बताए । कीर्ते हस्ताक्षरको विरोध गर्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिएको उनको भनाइ छ । कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले गठबन्धनको बहुमत सदस्यले मुख्यमन्त्रीको सपथ रोक्न निवेदन दिएको स्थितिमा प्रहरी दमन गरेर मुख्यमन्त्री नियुक्त गरी संविधानविपरीत सपथ ग्रहण गराउनु बहुमतको सरकारको मूल्य मान्यता र विधिको शासन तथा संविधानविपरीत भएको बताए । उनले विशेष अधिवेशन अन्त्य गरिनुले प्रदेशसभाको विशेषाधिकार हनन भएको समेत बताए । गठबन्धनले प्रदेश प्रमुख कार्यालयमा सांसदहरु निर्मला क्षेत्री, पुमर्ती ढेगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा र दिपेश थारुलाई प्रहरीले धरपकट गरेको भन्दै कारबाहीको माग गरेको छ । यस्तै आइतबार नै मुख्यमन्त्रीको राजीनामापछि अकस्मात राजीनामा दिएका एमाले सांसद कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई चार दलले राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति गरेका छन् । जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको कांग्रेस लुम्बिनीका सचेतक फकरुद्दिन खानले बताए । आइतबार बिहान एमालेको संसदीय दलको बैठकमा सहभागी पाण्डेले दिउँसो मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि राजीनामा दिएका थिए ।