NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रदेश २ का अस्पतालमा ४१७ दरबन्दी थप, जिल्लाका लागि फोकल मन्त्री तोकियो

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीसंग जुध्न प्रदेशका विभिन्न अस्पताल तथा प्रयोगशालामा काम गर्न ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । प्रदेश २ मन्त्रिपरिषदको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालकालागि १७४, जिल्ला अस्पताल सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२ जना, सिरहाको लहान अस्पतालका लागि२३, र सप्तरीको भारदह तथा पर्साको पोखरिया अस्पतालका लागि १५/१५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको छ । कोरोना विरुद्ध लड्न कर्मचारी दरबन्दी थप्ने निर्णय भएपनि दरबन्दी विवरणमा एनेस्थेसियोलोजिष्ट देखी स्वीपरसम्मको पद रहेका छन् । थप गरिएका दरबन्दीमा सम्बन्धित अस्पतालले आवश्यकताका आधारमा नियुक्त गर्न सक्ने प्रदेश सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए । मन्त्रीहरुलाई जिल्ला जिल्लाको जिम्मेवारी प्रदेश मन्त्रिपरिषद्को वैठकले कोरोना महामारीसंग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्लाको फोकल मन्त्री तोकेको छ । सप्तरीका लागि भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरी जिल्लाका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहट जिल्लाका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय र बारा तथा पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी तोकेको हो । जिल्ला फोकल मन्त्रीको जिम्मेवारी पाएका मन्त्रीहरुले सम्बन्धित जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने प्रवक्ता यादवले बताए ।