NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

आजका ‘गुड न्युज’ : गंगालालमा दैनिक १३५ सिलिन्डर अक्सिजन

काठमाडौं । कोरोना भाइरसको तीव्र प्रसारबीच अक्सिजन अभावका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने जोखिम बढ्दो छ । त्यही जोखिम हटाउन काठमाडौं बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रले अक्सिजन उत्पादन थालेको छ । त्यो पनि दैनिक एक सय ३५ सिलिन्डर उत्पादन गर्ने गरी । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको दुई करोड ७५ लाख रुपैयाँ लागतमा यो अक्सिजन प्लान्ट स्थापना गरिएको छ । प्लान्टले १९ वैशाखदेखि नै अक्सिजन उत्पादन थालेको छ । यो प्लान्टबाट दैनिक ४७ लिटरका एक सय ३५ वटा सिलिन्डरमा अक्सिजन भर्न सकिने छ । गंगालाल अस्पतालमा मात्र दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी ४५ सिलिन्डर अन्य अस्पतालमा पठाउन सकिनेछ । यो प्लान्टमा ३७ किलोवाटको एयर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एयर ड्रायर, एक हजार लिटर क्षमताको एयर ट्यांक, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण छन् । मुटुको समस्या भएर केन्द्रमा आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । (२) चीनले दिने भयो २० हजार थान अक्सिजन सिलिन्डर अर्को ‘गुड न्युज’ पनि अक्सिजनकै छ । दक्षिणी छिमेकी भारत कोभिड महामारीविरुद्ध कठिन संघर्षमा रहेका बेला महामारीलाई नियन्त्रणमा राखेको उत्तरी छिमेकी चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर पठाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती सिलिन्डरलाई चाँडो काठमाडौं ल्याउने तयारी भइरहेको छ । त्यसका लागि हवाई र स्थल दुवै मार्ग प्रयोग गरिने मन्त्रालयका सचिव डा. जागेश्वर गौतमले जानकारी दिए । (३) हजार शय्याको अस्पताल, फ्रन्टलाइनरलाई ५० प्रतिशत भत्ता सरकारले प्रदेशहरू र काठमाडौं उपत्यकामा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । सोमबार देशवासीलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी ओलीका अनुसार अस्थायी अस्पताल तयार गर्ने जिम्मा नेपालीलाई सेनालाई दिइएको छ । वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने उनको भनाइ छ । प्रदेश सरकारहरूले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पताल र साना अस्पताललाई नन–कोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने प्रधानमन्त्रीले बताए । ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरूलाई ममर्त गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने निर्णय पनि सरकारले गरेको छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचार प्रयोजनमा मात्र प्रयोग गर्ने निर्णय पनि सरकारको छ । यस्तै, कोभिडका बिरामीको उपचारमा जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना लिने र फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने सरकारी तयारी छ ।