NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पीसीआर परीक्षण गर्ने ठाउँबाटै संक्रमण फैलने डर

काठमाडाैं । सोमबार दिउँसो २ बजे । बिहान ११ बजेदेखि पीसीआर परीक्षण गर्ने लाइनमा बसेका हेटौंडाका संजिव काफ्लेको पालो बल्ल आएको छ । टोकन नम्बर २३० माथिका मानिसलाई लाइनमा बस्न माइकबाट बुलावट आएपछि उनी दगुरेर ह्याम्स अस्पतालको दोस्रो नम्बर गेटको सामुन्ने रहेको पीसीआर परीक्षण केन्द्रमा लाइन लागेका छन् । ‘बिहानै आएर फर्म भरेको बल्ल पालो आयो’, काफ्लेले भने । आइतबार हवाई उडानबाट काठमाडौं आएका उनी बुधबार बिहान दुबई जाँदै छन् । ‘अहिलेसम्म त बचेर आइएको थियो, यहिँ संक्रमित भइएला भन्ने डर भयो,’ भीडाम्भिड लाइनमा बसेका काफ्ले भन्छन् । बसपार्कस्थित एक होटलमा बसेका छन् उनी । छुट्टिमा नेपाल आएका उनको भिसा सकिन मात्र ४ दिन बाँकी छ । ४८ घण्टा भित्रमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट भएमा मात्रै उनले वैदेशिक रोजगारीका लागि जान पाउँछन् । ‘घरमा हुँदा जसो तसो बचिएको थियो । तर, यहाँ आएपछि यो लाइनमै कोरोना लाग्ला जस्तो भइसक्यो । ३÷४ सय मान्छे त एकै पटक यहाँ हुन्छन्,’ बिहान ११ बजेदेखि आफ्नो पालो कुरिरहेका काफ्लेले भने । काफ्लेजस्तै साउदी अरब जान पीसीआर परीक्षण गर्न आएका असुल बस्नेत सोमबार फर्म भरेर मंगलबार बिहान परीक्षण गर्नलाई आउँदै छन् । मोरङस्थित बाँसबारी घर भएका उनी आइतबार काठमाडौं आएर सुकेधारा बस्ने साथीसँग डेरामा बसेका छन् । ‘साथीसँग यहाँ भर्खर आइपुगेको,’ बस्नेत भन्छन्, ‘यो भीड देखेर अब भोलि बिहानै आउने भनेर फर्म लिएर कोठा जान लाग्यौं ।’ बस्नेतले ह्याम्स अस्पताल क्षेत्रमा लागेको भीड देखेर यहिँ संक्रमित हुने डर पालिरहेका छन् । बस्नेत भन्छन्, ‘जसोतसो बचेर यहाँ आइपुगियो, अब यहिँ संक्रमण सल्किने डर भयो ।’ ह्याम्स अस्पताल सरकारले विदेश जान आवश्यक पर्नेका लागि पीसीआर परीक्षण गर्न तोकिएका पाँच अस्पतालमध्ये एक हो । ह्याम्ससँगै उपत्यकाभित्रका मनमोहन मेमोरियल अस्पताल, स्टार अस्पताल र मेडिसिटी अस्पताललाई वैदेशिक रोजगारीमा जानेहरुको पीसीआर परीक्षण गर्ने अनुमति दिइएको छ । उपत्यकाबाहिर युर्निभर्सल मेडिकल कलेजले पीसीआर परीक्षणको मान्यता पाएको छ । तर, सरकारले सिमित ल्याबहरुलाई मात्रै अनुमति दिँदा यी ल्याबहरुमा अत्यधिक भीडभाड हुने गरेको देखिन्छ । सोमबार आफ्नो पालो कुरिरहेका सुदूरपश्चिमका महेश भण्डारी भीडभाड देखेर त्रसित भएको बताउँछन् । ‘धनगढीबाट बिहान आइपुगेको, पर्सीको फ्लाइट छ,’ भण्डारी भन्छन्, ‘आज त जसरी नि परीक्षण गराउनुपर्छ । नत्र भोलि रिजल्ट आउँदैन ।’तर, दिउँसोको तीन बज्दासमेत उनको पालोे आएको थिएन । १२ बजे टोकन लिएका उनको टोकन नम्बर ४१२ थियो । तर, परीक्षणका लागि बोलाउने माइकले भने भर्खर २५० बोलाइरहेको थियो । भण्डारी आफ्नो पालो नआउने हो कि भनेर सशंकित देखिन्थे । उनले भने, ‘आज पालो आएन भने त पर्सीको फ्लाइट भ्याउनै गाह्रो हुन्छ । उता (धनगढी) बाट आज मात्रै आइयो, अलि चाडो आउनुपर्ने रैछ ।’ आफ्नो पालो नआउने डरसँगै भण्डारीको मनमा अर्को डर छ– कतै यो भीडबाटै संक्रमित पो भइने हो कि । भण्डारी भन्छन्, ‘पालो आउँछ कि आउँदैन । फेरि यहिँबाट संक्रमण भयो भने अर्को समस्या हुन्छ ।’ ह्याम्स अस्पतालमा सैयौंको संख्यामा लाइनमा बसेका मानिसहरुले न सामाजिक दुरी पालना गरेका छन् न अस्पताल प्रशासनले नै पालना गराउन सकेको छ । सरकारले देशभर कैयौं ल्याब हुँदा हुँदै पनि सिमित ल्याबलाई मात्रै वैदेशिक रोजगारीमा जानेहरुको परीक्षण गर्ने अनुमतिका कारण यो भीडभाड भएको देखिन्छ । एकातिर वैदेशिक रोजगारीमा जानेहरु पालो नआउला भन्ने डरमा छन्, अर्कातिर पीसी आरपरीक्षण गर्दा नै संक्रमित भइएला भन्ने डर पनि । यस्तै डरैडरमा बिहान ११ बजेदेखि आफ्नो पालो कुरिरहेकी सुनिता गिरीले बल्ल तीन बजे परीक्षण गराएकी छिन् । भन्छिन्, ‘अब भोलि रिजल्ट आउँछ रे ।’ सुनितालाई यो भीडबाट संक्रमित भइएमा साउदी पुगेर संक्रमण पुष्टि हुने डर छ । उनी भन्छिन्, ‘अहिले संक्रमित भएको त कसरी भोलि नै देखिएला । साउदी पुगेपछि क्वारेन्टाइनमा बस्दा पो पोजेटिभ आउने हो कि भन्ने डर लागेको छ ।’ बिहानैदेखि आफ्नो पालो कुरिरहेकी सुनिताले खाजासम्म खाएकी छैनन् । डरैडरबीच बल्ल आफ्नो पालो पाएकी उनले स्वाब दिएपछि ह्याम्स बाहिर रहेको किराना पसलबाट एक पुरिया चाउचाउ र एउटा जुस किन्दै भनिन्, ‘के गर्नु काममा जानै छ । कपन बसेकाले यहिँ नजिक भएर आएको, तर यो भीड देखेर त मलाई नै डर लाग्यो ।’ ललितपुरस्थित स्टार अस्पतालको अवस्था ह्याम्स अस्पतालको भन्दा फरक छैन । उत्तिकै मात्रामा भीडभाड यहाँ पनि छ । आफ्नो पीसीआर परीक्षण गराउन बिहानैदेखि पालो कुरेर बसेका प्रदीप गौतम भन्छन्, ‘पालो कतिबेला आउने थाहा छैन । यहाँ यस्तो भीडमा कतिन्जेल बस्नुपर्ने हो ।’ गौतम सोमबार बिहान बिराटनगरबाट काठमाडौं आएर कोटेश्वरस्थित एक गेष्टहाउसमा बसेका छन् । बिहानै आइपुग्नसाथै पीसीआरको लागि अस्पताल आएको बताउँछन् उनी । तर, धण्टौं लाइनमा बस्दासमेत उनको पालो आएको छैन । १०१४ टिकट नम्बर भएका उनी बिहान १२ बजेदेखि लाइनमा बसेको बताउँछन् ।भन्छन्, ‘बिहानै आउँदा पनि अझैं पालो आएको छैन । यत्ति धेरै हस्पिटलमा पीसीआर गर्न दिए भइहाल्थ्यो । तीन÷चार वटामा मात्रै दिएको रैछ सरकारले । हामी जनतालाई झन्झट भयो ।’ एकातिर पीसीआर परीक्षणको लागी लाइनमा बस्नुपर्ने बाध्यता त छँदै छ, वैदेशिक रोजगारीमा जानेहरुलाई समयमा पीसीआर परीक्षणको रिपोर्ट नआउँला भन्ने पिर छ । घण्टौं लाइनमा बस्दा पनि पालो नआउने दुविधामा उनीहरु देखिन्छन् । सरकारी प्रयोगशालाले कम्तीमा तीनदेखि चार दिन लगाउने हुँदा निजी प्रयोगशालाबाटै पीसीआर परीक्षण गर्न बाध्य छन् उनीहरु । एकातिर सरकारको भन्दा बढि खर्च त छँदै छ, अर्कातिर सिमित प्रयोगशाला निर्धारण गरिँदा पीसी आरपरीक्षण कै क्रममा संक्रमित हुने जोखिम छ । सरकारले संक्रमण उच्च रहेका कारण निषेधाज्ञाा जारी गरेको छ भने निषेधाज्ञाा जारी हुनुअघि नै एक ठाउँमा २५ जनाभन्दा बढिलाई भेला नहुन आदेश दिएको थियो । तर, सरकारले नै निर्धारण गरेका प्रयोगशालामा यो भन्दा धेरै भीड हुने गरेको छ । जसकारण एकातिर सरकारकै निर्णयसँग सरकारको आदेश बाझिएको छ भने अर्कातिर वैदेशिक रोजगारीमा जानेहरुले जोखिम मोलेर पीसीआर परीक्षण गराउनुपरेको छ । ‘सरकारले भनेको मान्नै पर्यो’, ह्याम्स अस्पतालमा भेटिएका महेश भण्डारी भन्छन्, ‘तर, सरकारको कुरा मान्दा हामीलाई धेरै समस्या भयो । आज पालो आएन भने पर्सीको फ्लाइटमा जान पनि पाइन्न ।’