NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एकैदिन ५५ जनाको मृत्यु, उपत्यकामा मात्रै ३८९३ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको पहिलो लहरदेखि दोस्रो लहरको संक्रमणसम्म आनपुग्दा नेपालमा मंगलबार हालसम्मकै संक्रमण र मृत्यु उच्च देखिएको छ । मंगलबार एकैदिन कोरोना भाइरसको संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने सात हजार ६६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको मन्त्रालयले जनाएको छ । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको छ । यस्तै पछिल्लाे २४ घण्टामा काठमाडौंमा २७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ गरी उपत्यकामा ३८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।