NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चितवन र बाँकेमा गरी थप ५ सङ्क्रमितको मृत्यु

भरतपुर/राँझा । कोरोना सङ्क्रमणका कारण चितवन र बाँकेमा गरी थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँची, रुपन्देहीका एक/एक र बाँकेका दुई जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ मा अस्पतालमा भर्ना भएका उनमा त्यसको भोलिपल्ट सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे उनको मृत्यु भएको हो । यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको पनि सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई वैशाख २१ मा अस्पताल भर्ना भएका थिए । उनमा त्यही दिन नै सङ्क्रमण पाइएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात् अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो । अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई वैशाख २१ मा अस्पताल आएका उनको गए राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० मा बुटवलको नेसनल प्याथोल्याबमा सङ्क्रमण पुष्टि भएको थियो । उता बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार वैशाख १० मा भेरी अस्पतालमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति ११.४५ बजे मृत्यु भएको हो भने वैशाख १५ मा कोहलपुर मेडिकल कलेज भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ । (रासस)