NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कुशल भुर्तेल आईसीसीको ‘प्लेअर अफ दि मन्थ’ को मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अप्रिल महिनाका लागि ‘प्लेअर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् । उनीसँगै पाकिस्तानका ब्याट्सम्यानद्वय बाबर आजम र फखर जमान पनि पुरुषतर्फको मनोनयनमा परेका छन् । आजमले पछिल्लो महिना दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय क्रिकेट शृंखला कब्जा गर्दा १०४ को औसतमा २ शतकसहित २२८ रन बनाएका थिए । उक्त प्रदर्शनको आधारमा उनी भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै आईसीसीको एकदिवशीय बरियतातर्फ पहिलो नम्बरमा उक्लिएका थिए । एकदिवशीय बरियतामा पहिलो नम्बरमा उक्लिने उनी जाहिर अब्बास, जाभेद मियाँदाद र मोहमद युसुफपछि पाकिस्तानका चौथो खेलाडी हुन् । आजमले अप्रिलमा दक्षिण अफ्रिकाविरुद्ध ४ वटा र जिम्बावेविरुद्ध ३ वटा टी-२० क्रिकेट खेल खेले । जसमा उनले ४३.७५ को ‍औसतमा ३०५ रन बनाएका थिए । सेन्चुरियनमा जिम्बावेविरुद्ध उनले ५९ बलमा १२२ रनको शतकीय पारी खेलेका थिए । यस खेलमा आजम र मोहमद रिजवानको १९७ रनको साझेदारी टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा बनाएको हालसम्मको सर्वाधिक रनको साझेदारी हो । यो शृंखलामा उनले थप २ अर्धशतकसमेत प्रहार गरेका थिए । जमानले भने दक्षिण अफ्रिकाविरुद्धको ३ एकदिवशीय खेलमा ३०२ रन बनाएका थिए । १००.६६ को औसतमा रन बनाउँदा उनको स्ट्राइक रेट १११.४३ थियो । यो शृंखलामा उनले एकै पारीमा १९३ रनसहित २ वटा शतक प्रहार गरेका थिए । यो प्रदर्शनले उनलाई करियरमै सर्वाधिक उचाइमा लगिदियो । कारण उनी आईसीसीको पुरुषतर्फको एकदिवशीय ब्याट्सम्यानको बरियतामा सातौं स्थानमा उक्लिएका थिए । यता गत वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले ६९.५० को ‍औसतमा सर्वाधिक २७८ रन बनाएका थिए । उनले टी-२० डेब्युमै नेदरल्यान्डस्‌विरुद्ध अर्धशतक प्रहार गरेका थिए । करियरका सुरुवाती ३ खेलमा लगातार ३ अर्धशतक प्रहार गर्दै उनी यस्तो कीर्तिमान राख्ने पहिलो खेलाडीसमेत बने । प्रतियोगिताका ५ खेलमा ४ अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिजसमेत भएका थिए । प्रतियोगितमा नेपाल, नेदरल्यान्डस् र मलेसिया सामेल थिए । उक्त प्रदर्शनका आधारमा कुशल पहिलो पटक आईसीसीको टी-२० बरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएका थिए । त्यसपछि अद्यवधिक गरिएको बरीयतामा उनी ६१ औं स्थानमा उक्लेका छन् । अवार्ड विजेताको निर्क्योल भोटिङमार्फत हुनेछ । यसका लागि कुशललाई पनि आईसीसीको वेबसाइटमा गएर भोटिङ गर्न सकिनेछ । https://twitter.com/ICC/status/1389792959437082626?s=20