NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनाबाट भारतमा एकै दिन ३,७८० को मृत्यु

काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड– १९ बाट कूल संक्रमितको संख्या २ करोड ७ लाख पुगेको उल्लेख छ । गत मे १ मा ४ लाख कोभिड– १९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट संक्रमितको संख्या ३ लाख ५७ हजार रहेको भेटिएको छ । सरकारी विवरणमा कोभिड– १९ बाट हाल ३४ लाख ८७ हजार सक्रिय संक्रमित छन् । साथै पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म १ करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा २ लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ । कोभिड–१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड– १९ को खोप अभियानलाई पनि तिब्र बनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड ५ लाख व्यक्तिलाई खोप दिइसकिएको छ । कोभिड– १९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ । नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड– १९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति सहज हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा हालसम्म कोभिड– १९ बाट सात हजार ७५२ जनाको ज्यान गइसकेको छ । रासस