NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लुम्बिनीमा ४ दिनमा चौथो पटक मन्त्रीहरुको सपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । योसँगै लुम्बिनीको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार साँझ आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री बनाइएका धर्मबहादुर लाल श्रीवास्तवले बुधबार सपथ लिएका हुन् । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । योसँगै पछिल्लो ४ दिनमा चौथो पटक मन्त्रीहरुको शपथ भएको छ । गत आइतबार मुख्यमन्त्री पोखरलले समेत पदबाट राजीनामा दिई पुनः मुख्यमन्त्री चयन भई त्यही दिन बेलुका हतार-हतार शपथ लिएका थिए । त्यसको अर्को दिन आर्थिक तथा योजनामन्त्री बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री हरि रिजालले शपथ ग्रहण गरेका थिए । दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार हुँदा भौतिक पूर्वाधारमन्त्री भएका जसपाका सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भएका विजयबहादुर यादवले पनि यही बीचमा पद तथा योपनियताको शपथ लिएका हुन् ।